Jump to content

Page:Bhanubhaktako ramayan.pdf/99

From Nepali Proofreaders
This page has not been proofread

अङ्गद् विर्हरुलाइ निर्भय दिई येती भन्याथ्या जसै ।
सब् वृत्तान्त बताइ अङ्गदजिले विस्तार् सुनाया तसै ॥
सम्पाती तहिं भन्दछन् म कन लौ लैजाउ सागर् महाँ ।
दिन्छू आज जटायुलाइ जलदान् चाँडो म ऐल्हे तहाँ ॥१२६॥

सीताको म बताउँला सब खबर् स्नान् अञ्जलीदान् गरी ।
ई बात सूनि उचालि झट् लगि दिया सम्पातिले स्नान् गरी ॥
दीया अञ्जलिदान् जसै फिरि उहीं ल्यायेर राखी दिया ।
सम्पाती खुसि भै सबै कहि दिया आपत्ति देख्तै थिया ॥१२७॥

हे विर् हो म त गृद्ध हूँ र म सिता देख्छू नजर्ले पनी ।
याहीं छन् यहि भेष् छ येति सँग छन् यस्तो छ चाला भनी ॥
भन्छू सब् तिमिलाइ चार सय कोस् जो कुद्न सक्छौ यहाँ ।
सो लङ्का पनि पुग्दछौ उति कुद्या पौंचिन्छ लङ्का महाँ ॥१२८॥

लङ्कामा ति सिताजि छन् तहिं गया मिल्छिन् सिताजी जहाँ ।
गाह्रो चार् सय कोस कुद्न छ तहीं जाऊ न जाऊ तहाँ ॥
रावण्ले लगि भित्रि गुप्ति वनमा राख्याकि छन् बेस् गरी ।
पौंची भेट् गर जान सक्छ तिमिमा को यो समुद्रै तरी ॥१२९॥

अश्शोक्का वन भित्र वृक्ष छ असल् एक् शिंशपाको तहीं ।
सीता छन् तहीं भेट् हुन्या छ तहिं लौ जाऊ गयो काल् यहीं ॥
क्यारूँ रावणलाइ मार्न म सहज् मान्र्या थियाँ हो र को ।
साक्षात् सूर्यजिका कठोर् किरणले प्वाँखै डढ्या सब् र पो ॥१३०॥

जाऊ चार् सय कोस कुद्न सकन्या कुन् विर् छ सागर् महाँ ।
सीताको समचार् खबर् बुझि सहज् फर्केर आऊ यहाँ ॥
यो सम्चार बताइ फेर् खुसि भई आफ्नू हवाल् सब् कह्या ।
जुन् रित्ले अघि प्वाँख् डढ्या र विपती पाई अनेक् ताप् सह्या ॥१३१॥