सत्य सोझो हुन्छ
सत्य प्राकृतिक छ असत्य अप्राकृतिक । मेरो आत्मा झूटो चाहँदैन । मनुष्यको आत्माभित्र सेतो हुन्छ, सबै कालो हुन्न' ठूला-ठूलाको भनाइ छ । ईश्वर साथ हुन्, मानवात्मा शान्ति-पोषण पाउँछ । असत्य आत्मघाती छ।
म झूटो बोल्दा दोहरो चलाकी गर्छु, सत्य बुभ्ने र सत्यलाई छिपाउने । झूटो बोल्नासाथ मभित्र वक्रताको प्रादुर्भाव हुन्छ । अनि झूटोलाई स्वीकार नगरुञ्जेल मलाई झूटोउपर झूटो थप्ने प्रवृत्तिहरू बढेर बाङ्गो बाटोमा विभिन्न पत्रे भूलभुलैया बनाइदिन्छन् । सच्चा आत्मा भझूटोबाट डराउँछ, मिथ्याका निमित्त उसको सामर्थ्य नै हुँदैन । यिनै वक्रताहरू विकृति हुन्, नरकको कुण्ड भनेको यिनैका क्रिया हुन् । यिनमा ज्वलन छ, अँधेरी आतस कम्प ! अनन्त कालको थिचाइले मानवात्मालाई बङ्गयाएर राख्तछन्।
त्यो जाति जिउन सक्तैन, जो असत्यको पोषण गर्दछ ! उसका अङ्गहरू बाङ्रिँदै जान्छन् । विचारधाराहरूले अनन्त वक्रता लिंदा अनन्तको उत्तर भागको शक्तिले सत्यतर्फ नसोभिउञ्जेल त्यसलाई दुःख दिदै लैजान्छन् । असत्यको आधार गरेर जीवनको आशा हुन सक्तैन । संसारको सत्यले त्यस जातिलाई थिचाइमा संहार गर्छ, जो असत्यको वक्रतामा संसारसँग लडाइँ गर्दछ । ज्यादा दीर्घ लडाइँले त्यसका सब अङ्ग नाश हुन सक्छन्, तर थोरै समयको वक्रताले खण्डनाशसँग थोरै अङ्गभङ्गबाट सत्यको होश मिलेर बच्न सक्तछ ।
त्यसकारण, हे समयका शिशुहो ! सत्यमा लाग ।बाङ्गो नबन, आत्मघात वीरता होइन ।फोस्रो इज्जत, रवाफ र महत्त्वले आत्मवञ्चनामा नपस । सत्यको विरुद्ध बहादुरी काम लाग्दैन । तिमीहरू त्यहाँ नास्तिक हुन्छौ, जहाँ सत्य छाडेर बोक्रे बन्छौ । ईश्वर र अनन्तकाल छकिन्तन् ।