देखिएको थियो । व्यक्तित्व नै संसारको सम्राट् हो । यसको अभाव शून्यता हो । त्यस शून्यतामा जीवनको लवलेश पाइन्न । मनुष्य जब एक चिज हुँ भन्दछ, र अरू चिजसँग लड्न थाल्दछ, ऊ केही न केही बन्न जान्दछ । जब ऊ सब किसिमको चिजमा एकाकार रहन्छ या सब मतको समर्थक रहन्छ, तबसम्म ऊ हावाको निर्जीव परालका रूपमा रहन्छ । मत्वको मात्राको प्रधानता चढ्नु नै विकासको पहिलो सिँढी हो । आज्ञाकारिताको विष्णु सहस्रनाम सबैले लेखेका छन् तर केवल झकाइ र निहुराइ मात्र विकास हो भन्नु सफेद गलत हो । चम्पाका निमित्त, प्रकृतिका नियमले नै, जीवनको सर्वस्वाभाविक सब क्रिया र गुणबाट वञ्चित भएर, स्त्रीत्वको निमिट्यान्नमा घरबुहारीको निन्याउरो मैलो आदर्श हुनु सुहाउने कुरो जरुर थिएन । चम्पा मानिस बन्न खोज्दथिन् तर चम्पा डराउँथिन्, उनमा संस्कारहरू भयङ्कर थिए । पूर्वजन्मका भीषण कीटाणुहरू, पुस्तानपुस्ताका विषाक्त वाष्पहरू क्रियाशील थिए । उनी अझै परिस्थितिकी दासी थिइन् तर प्रकृतिले उनलाई वर्ड्स्वर्थकी लुसीलाई झैँ क्रमशः व्यक्तित्व हासिल गर्न सिकाउने आवश्यकीय जीव शिक्षाको पाठशालामा एक कदम अगाडि बढाउने चेष्टा गरिरहेकी थिइन् ।
तब यस्तैमा एक दिन उनको सासूसँग घनघोर झगडा पर्यो ।
"ए कान्छी !"
चम्पाले आधा सुनिनन् ।
"अझ सुन्दिन ! भर्खर गुनगुनाइरहेकी थिइन ।"
"अ३"- चम्पाले आङ कर्काइन् । रातको एघार बजेको छ ।
"एक चम्पा ! तेरो कान छैन ! अझ बोल्दिनस् अजिर्नी ?"
चम्पा सासूको कोठामा फन्किँदै पसिन्-रिसले । बुढियाको पिँडौलामा घिउ घस्नु थियो ।
"आज पिँडौला चौपट्ट करकर खाइरहेछ । घिउ घसिदेन ए !"
"कस्तो घिउ घस्नुपर्यो ….. पहाडीका पिँडौला ।"
च्वाट्ट सासूले सुनिहालिन् । उनले आफ्नो मन-मनमै भने भन्ठानेकी थिइन् । बस् ! वज्र चड्क्यो ।
"के भनिस् चोथाले ? च्यात्नुपर्यो वेश्येका गाला ?"