Jump to content

Page:Champa.pdf/51

From Nepali Proofreaders
Revision as of 01:25, 12 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

कुलो श्रीकृष्ण चम्पाका निमित्त दिनदिन फैलिँदै भरिँदै जान लागे र तिनका स्रोतमा प्रशस्त जल बहन लाग्यो । त्यसउपर पनि अझ् विरोधी समालोचना भयङ्कर टिप्पणी !

संसारमा मानिसहरूलाई त राक्षस भन्नु न दैत्य । कति असहनशील हुन्छन् तिनीहरू ल । अर्काले गरेको धर्मलाई समेत हँस्सी उडाउन सक्ने यी-यी पापिनीहरू !

श्रीकृष्णको चित्र बडो सुन्दर सिँगारेर चम्पाले आफ्नो कोठाभित्र सजिसजाउ टेबिलउपर राखेकी थिइन् । ज्यूनारको समय हुन्थ्यो, स्नानको, सुकलाको । सुसारको समेत । कल्पनाले ती सब चिज कृष्णको चित्रलाई सजीव बनाएर उनका साथमा सम्बन्धित राख्दथ्यो, जति को अभाव चम्पाको घरेलु जीवनको बैँसालु विकासमा उनी आफैँ भित्र-भित्र अनुभव गर्ने गर्थिन् ।

उनलाई कहिले पूरा तवरले विश्वास लाग्दथ्यो कि ती कृष्णजी चित्रबाट सजीव भएर जीवनकार पुरुषका स्वरूपमा चट्ट टेबिलबाट उर्लेर उनका बगलमा जुनेली रात बिताउन आउन सक्थे । सुन्दरतम मानव । एक आदर्श- मानवीय, राजसी मानवीय-सब युगका स्त्रीहरूका निमित्त आवश्यकीय पाइनुमा नै धर्मको मुख्य आधार र आश्रय बनेको छ ।

चुम्बन, वन्दन, आत्मसमर्पण, छातीटँसाइ, खुसखुस कुरागराइ, टहल, शुश्रूषा, स्वामीभावना इत्यादि सब भक्तिमार्गका शाखा पनि हुन् तथा यौनभावमा प्रशाखास्वरूप पनि । यस काल्पनिक नाटकीय दाम्पत्यजीवनमा चम्पालाई ठुलो सोख बढ्दै गयो अरू तवरको अदृश आश्रयको अभावले । यो पनि एक किसिमको व्यभिचार ता जरुर थियो, बुझ्न सक्नेहरूका निमित्त, किनकि सब सभ्य व्यभिचारजस्तो असन्तोष प्रेरित आकाङ्क्षाहरूको पूर्ति यहाँ पाइन्थ्यो । त्यस जीवन या पुरुष-धनीबाट जसमा समाज स्त्रीलाई सन्तुष्ट राख्न चाहन्थ्यो तर यो धर्म\समर्थित व्यापारमा आदर्श पति प्रतिबिम्बताको आडमा पुरुषतर्फ कुनै दुर्भावना गरिएको छ भन्नु फजुल थियो ।

चम्पाको, अरू नेपाली दलित अचेत या अर्धचेत या अर्धविकसित स्त्रीहरूको झैँ व्यक्तित्व विकासको भरखर आरम्भ हुने चेष्टासम्म