ढोका कर्के थियो । आमाचाहिँ भर्याङ उक्लिन लागेकी थिइन् । रामकान्तले नवयौवन सुन्दरीको कपालको लाली के रहेछ भनेर पहिलोबार छामे ।
"ह्या ? … फटाहा ?" चम्पाले गाली गरिन् "कस्तो मनजोगी, ओहो ? उस् ! उस् ! स्स ! स्स !"
आधा कपाल फुलेकी रगादेवी हातमा पुरानो अचारको सिसी लिएर ढोका उघारेर खडा भइन् ।
"बाबु ! कस्तो छ तँलाई आजकल ?"
"बेस आमा ! …. बिलकुल पहलमान ।"
"त्यस्तो भएर मात्र हुन्न । एक दुई वर्ष हेर्नुपर्छ रे । फर्कन्छ रे । सुवासिनी बार्नैपर्छ है बाबु, तैँले । धोखामा पर्लास् । अब यो चम्पेलाई कोठा बन्द-आजदेखि …….. हरहमेसा कोठामा पसिरहन हुन्छ ? लोग्नेलाई त्यस्तो छ भनेपछि । मार्लिस् तेरो लोग्नेलाई थाहा छ ?
कस्तो साइत पर्या !…….
"चम्पु ! ल आइज अचार पार्नु छ ।"
"हवस् !"
चम्पाको गाला वसन्तपुर भयो ।
उनको जीvनको प्रथम पौरुषस्पर्श किसलयकपोलमा पाएर उनलाई अनौठा असजिलो लागेको थियो । उनले फिल्मको "अशोककुमार" नायकको आर्यचेहराको प्रेम, ज्वलन्त मिठाससँगको एकलासे अधर मिलन या उर मिलन कल्पना गरेकी थिइन् । त्यस कक्षाबाट, त्यस आदर्शबाट खस्के पनि अनुभवमा औपन्यासिकता थियो । …. तर उनको आत्माले भन्यो- "कस्तो कुसमयमा अर्कालाई छुन आ’होला ! मैले बिरालो आयो भन्या पनि नसुनेर । रहिछन् उनै घोरमुखा । देखिन् कि ?"
चम्पाले सासूतर्फ अहिलेदेखि नै वैमनस्य विकास गर्न लागेकी थिइन् तर उति खराब, तीव्र होइन । मन-मन उनले सासूको नाम दिएको थियो- घोरमुखा ।
"बस न !"