This page has not been proofread
(८)
उज्ज्वल लम्बा हिमको काँठो
बहुधा बादल हिँड्ने बाटो
त्यस बाटाको तल्लो भेक
विकट भोट वा ठन्डा लेक
(९)
असी वर्षतक पूर्ण जवानी
कायम राख्ने हावा पानी
तर त्यो खपने बिरलै हुन्छन्
जुन लेकाली खास भनिन्छन्
(१०)
हिमका अद्भुत बुटी निकाली
च्याङ्ग्रा भेडा चम्री पाली
जीवन-यापन गर्ने क्रम छ
खेती-पाती बहुतै कम छ
(११)
न सभ्यताको कृत्रिम छाप
न ठगी, झगडा चुक्ली-पाप
हट्टा-कट्टा भोला-भाला
सबको जीवन-पन्थ निराला