Jump to content

Page:Sunko bihani.pdf/14

From Nepali Proofreaders
This page has been proofread

थियो गर्मी वेला हपहप थियो घाम बहुत
बले झैं आकाशै दनदन थियो धप्धपसित ।

बडो मानी गर्मी रुखतल सुती शीतलसित
झिकी जिभ्रो खस्रो ढलकसँग लेटी सुखसित ॥

थियो यौटा ठूलो सकल पशुको सिंह वनको
दुवै चिम्ली आँखा सुखसँग डटेको अति निको ।

छहारी हाँगाको हृदयकन ठण्डा गरिदिने
चरा बस्ने बोल्ने तलतिर रहेको सुख दिने ॥

बडो मस्ती पाई सुखसँग निदाईकन त्यहाँ
रहेको वेलामा सकल पशुको इन्द्र सुखमा ।

जरा बाङ्गा खोपी तलतिर बसेको अलिकति
त्यहाँ निस्के मूसा खुरुरुरु गरी दौडन कति ॥

निदाएको राजाकन रति नटेरीकन त्यहाँ
चुचीं च्वीं च्वीं गर्दै वरिपरि हिंडे त्यो समयमा ।

त्यसै हेप्दा हेप्दै पछिपछि चढे आँग त्यसको
बडो नाची उफ्री खुरुरुरु गरे शब्द ननिको ॥