चीसो झन् बढ्न लाग्यो 'हृदनल' खिचिँदा सूर्यका तेज आई ।
देख्दा सारा उज्यालो तर गगन थियो उष्णताहीनतुल्य ॥
हावा भै पातलो झैं अलि कठिन हुँदा खास ती भूपबाट ।
अर्को अस्त्र-प्रयुक्तै हुन गइ बढिगो भै बलीयो प्रवात ॥
(२३)
"खै क्यै देखिन्न याहाँ गगन सब निलो शून्य देखिन्छ सारा ।
रित्तो ठूलो उज्यालो ! रवि पनि उसमा स्वावलम्बी-समान ॥
बाटो देखिन्न केही न छ वरपर क्यै दिव्य सङ्केत मानो ।
स्वर्गै होला नहोलासरि सब नभको शून्यताले गिज्यायो ॥"
(२४)
हाँसेका याननेता मुसुमुसु नृपमा विन्ति यो गर्न लागे ।
"यस्तै शङ्का लिनाले युगयुग जनले मार्ग नै देखिएन ॥
सस्तो बाटो गराए सब सुरपुरमा पुग्दछन् रे भनेर ।
यस्तो आच्छन्न जस्तो नजरअघि भयो स्वर्ग संसारको रे !
(२५)
चाहन्छौं देव शान्ति प्रथम सब कुरा त्याग गर्ने बनेर ।
स्पर्धाको त्यो सुनौला गजुर ऋषिहरू मात्र बुझ्छन् गुनेर ॥
छोटाले भेटिएका गडबड हुन गै बिग्रिएला अशान्त ।
भन्ने सम्झी छ ऊँचा नजरपर सबै दिव्य सर्वस्वतुल्य ॥
(२६)
बाटो देखिन्न केही जुन हृदयविषे भावना छैन दिव्य ।
त्यस्ताको यत्न लामो शिखरतिर पुगी हुन्न त्यो स्वर्ग लभ्य ॥
विश्वासैमा अडेको सुविमल दिलले खोज गर्ला अवश्य ।
चुत्थो ठानी जगत् जो त्यसपछि रहला चारु खुल्दै रहस्य ॥
(२७)
भन्ने सम्झी यसैले अमर नियतिले मार्ग मेटेर रेखा-
सम्मन् सारा नराखी हुदयबिच हुने भित्रको गन्ध चेत-
बाटै फेला परोस् यो प्रकृति सब जिती यो गरेको विचार ।
श्री स्वामीले बनाए सुरपुर दृगको दूर झैं शून्यतामा ॥
(२८)
Page:Shakuntala.pdf/330
Appearance
This page has been proofread
