"निक्कै चर्को हुनाले शिर अलि गर्हुँगो बन्न लाग्यो मलाई ।
केही धीमा भए यो सुखसँग म थिएँ स्वर्गको मार्ग जाने ॥"
भन्दा हाँसेर भन्छन् "जससँग पहिले गर्वले हुन्छ बात ।
त्यस्कै माफी नमागी हृदनल त त्यसै शीतलो हुन्छ जात ॥"
(१७)
"जो जो छन् शत्रु मेरा सुर नरहरु वा गर्व गर्ने मसाथ ।
तापी हुन्छन् प्रयोगी 'हृदनल' जब यो हुन्छ आग्नेय जान ॥
आफैंलाई नजोरी कर रिपुहरुले या घमण्डीहरूले ।
यो ठण्डा नै नबन्ने हुन गइ दुख भो हुन्छु लाचार ऐले ॥"
(१८)
भन्दा झुक्छन् बुझेका सुरवर शिरले "शस्त्र ! माग्छु क्षमा म ।"
भन्दै जोडेर दोटै कर नरम बनी "भूपको हूँ म भक्त ॥"
ठण्डा भो ताप भाग्यो रमरम मनको माफिकै मस्त पारी ।
'प्यारा मेरा सुहृद् हौ' सरि 'हृदनल' ले दिन्छ सन्देश भारी ॥
(१९)
चढ्दै चढ्दै गयो त्यो सुरपुरपथमा उच्च भै शीघ्र यान ।
पैह्ले हुस्सू छिचोली जललवहरुको जाल झैं शीघ्र शीघ्र ॥
बाटो केही बिलायो छिनभर परको व्योम बन्दा अदृश्य ।
डफ्फा डफ्फा चलेका हरहर, कुइरा बीचमा खात खात ॥
(२०)
चढ्दै चढ्दै गयो त्यो जलदउपर भो वाष्पपर्दासमान ।
सेतो इन्द्रेनि पर्दो तहतह कइरोमाथि उक्लेर यान ॥
मानो आत्मा उज्यालो दिनकर हरिको स्वर्गगामी उडालु ।
बाक्लो छोडेर माया तहतह ढकनी छेड्न बन्दो सिपालु ॥
(२१)
घप्धप्धप् घप्कँदा छन् रविगगन सफा नीरमा झन् उज्याला ।
मायाभन्दा महात्मा हँसमुख छविमा आफु सानन्द रूप ॥
मानो आफ्ना उज्याला किरणहरु बजाएर तन्त्री झनन्न ।
बस्दा एक्लो उज्यालो रह अति सुकिलो भित्र दिव्य प्रसन्न ॥
(२२)
Page:Shakuntala.pdf/329
Appearance
This page has been proofread
