भन्ने विन्ति परी "ल ले त" नृपले आज्ञा दिँदा ल्याइयो ।
त्यो वृत्तान्त शकुन्तलाकथनको श्यामामुखी पाइयो ॥
औंठीले अब सम्झना पनि फिरी "हा ! हा ! बिचारी"" भनी ।
आँखा टल्पल सम्झिए निठुरता छाती छिया झैं बनी ॥
(१७)
"केले विस्मृति भो मलाइ यसरी केको पर्यो बादल ?
केले हा ! कलिलो मुहारजलकी ती सुन्दरी टल्पल ॥
घुँक्कादार कठोर घोर दुखमा जल्दो पुकाराकन ।
पाषाणैसरि क्रूर भै नजर यो बिर्सें कसोरी भन !
(१८)
हा ! हा ! दैव बनाउँछस् तँ सपना जस्तो त्यसै जीवन ।
ल्याई बादल घोर घोर अँधरो पारी उदासी मन ॥
झल्का एक खुलेन यो हृदयमा सानो बिजूली पनि ।
यी राम्री मृदुलाङ्गिनी जब थिइन् सौन्दर्य आँखाभरि ॥
(१९)
धिक् ! आँखा चिनिनस् तँ कान बहिरो धिक्धिक् तँलाई पनि ।
धिक् ! मेरो दिल त्यो पुकार सुनिनस् आकाश पग्ले पनि ॥
रुन्थे वृक्ष, लता, चराहरु रुझी सारा उदासी थिए ।
त्यो दुःखी क्षणबीच इन्द्रिय सबै क्या बेइमानी भए ॥
(२०)
चड्क्यो बज्र चट्याङ्ग हाय शिर यो मेरो थियो झन् कडा ।
पोख्थे स्वर्गपरी धरातिर भरी आँखाहरूका घडा ॥
गर्थ्यो दुःख विलाप त्यो पवनमा रूँ रूँ गरी हुन्हुनी ।
त्यस्तो आँधि हुँदा सबै प्रकृतिमा पग्लेन यो जीवनी ॥
(२१)
माया-मोह महान् भुलाउँछ हरे ! मूर्खै बनाईकन ।
बेची राज्य म किन्दथें जुन परी ढुङ्गो बनें त्यागन ॥
अज्ञानी मन जङ्गली हुन गयो हीरा त्यसै फ्याँकिइन् ।
स्वीकारै नमिलेर आँधिसँगमा हा ! ती अभागी गइन् ॥
(२२)
Page:Shakuntala.pdf/319
Appearance
This page has been proofread
