गरी मिष्ट गाली लिएकी उचाली ।
त्यहाँ कृष्ण पाठो पिटी सुस्त केही ॥
यसो हेर्दछिन् देख्दछिन् झल्किएको ।
कुनै चीज ती बैंसवाली उज्याली ॥
(११)
नुही त्यो टिपी देख्दछिन् एक औंठी ।
पछी हेर्दछिन् हेम झल्झल् उज्यालो ॥
थिए काटिएका त्यहाँ तीन दाना ।
सफा चारु रेखा लिई चारु बान्की ॥
(१२)
खुशी भै त्यही म्वाइँ खाएर चट्ट ।
तिनी भन्दछिन् "गर्नु गाली त झट्ट ॥
खराबै छ मिट्ठू नबुझ्दा तँलाई ।
म हप्काऊँदथें के मिलाइस् मलाई !!"
(१३)
दुवै झोपडी फर्किए शान्त पाठो ।
मिली पुष्ट छाती परीगो लुटुक्क ॥
त्यहाँ देख्छ औंठीविषे त्यो किसान ।
सफा नाम 'दुष्यन्त' आश्चर्यसाथ ॥
(१४)
"अहो ! यो त औंठी महाराजको हो ।
म लैजान्छु यो आज नै राजधाम ॥"
भनी त्यो सफा वस्त्र आफ्ना लगाई ।
तयारी भयो राजप्रासाद जान ॥
(१५)
"औंठी ले'र किसान आउँछ कुनै औंठी महाराजको ।
जो पाएँ तटमा सुचारु सरको यै साँझमा आजको ॥
भन्ने गर्दछ विन्ति ल्याउँ कि प्रभो ? आफैं चढाईकन ।
किस्सा विन्ति गरी सकी नृपतिमा फर्कन्छ रे निर्धन ॥"
(१६)
Page:Shakuntala.pdf/318
Appearance
This page has been proofread
