नाकै काटी मअघि यसरी आउनै लाज छैन ?
मेरै स्वामी भनन दिलले लाज केही लिँदैन ॥
को हो को हो कुन पुरुष हो के लिई नाम मेरो ।
धौका पार्यो युवति यसरी त्यो ठगीले चमेरो ॥"
(१६१)
आँखा क्रोधी चमकसित क्यै शीर्ष आफ्नो उचाली ।
भन्छन् गर्वी द्विजवर सबै नेत्रमा क्रोध फाली ॥
"यो हो के धर्म पुरुषहरू सत्य सारा अफाली ।
जाली बन्दै युवतिकन के फ्याँक्दछन् दूर नाली ॥
(१६२)
टाली झुत्रो यश जगतको त्रासले मर्म फाली ।
हाली यौटीकन जलधिमा दुःखको अग्नि डाली ॥
जाली बन्ने 'नृपति म' भनी धर्म औ नाम फाली ।
यस्ताको कीर्ति त्रिभुवनमा बन्दछे दीर्घ काली ॥
(१६३)
भो भो नानी सरस प्रभुको सम्झना आउनेछ ।
टाढा जाँदी विकल प्रभुकी कल्पना फेरि फिर्ला ॥
आफैं केही विषयहरुमा देउ छोडी प्रकाश ।
झोंझै बन्दा सकल भुलिने हुन्छ है राजकाज ॥"
(१६४)
बोलिन् सरेर अघि सुन्दर मिष्ट वाणी ।
दुष्यन्तका नजरसाथ शकुन्तलाले ॥
केही प्रयत्नसित भाषण पाउँदी ती ।
वर्षाउँदी दृग मनोहर चारुताले ॥
(१६५)
के के भनूँसरि भयो अघिबाट फेरि ।
चाँडै समालिन गइन् अझ आश गर्दी ॥
हेरेर नेत्र दुइमा नृपको पुकारा ।
गर्दी भइन् मृदुल-शब्द-सुभाष-धारा ॥
(१६६)
Page:Shakuntala.pdf/303
Appearance
This page has been proofread
