पन्छीहरू सखि बनेर 'शकुन्तला' जो ।
जाहेर नै छ प्रभुमा अब सम्झिपाऊँ ॥
के बिन्ति फेरि प्रभुमा म झिँझो चढाऊँ ।"
(१५५)
सुन्दा यस्ता वचन ऋषिका शिष्यका, भूप फेरि ।
बिर्सी जाँदा विषय अघिको छक्क भै टक्क हेरी ॥
"यो के ठूलो छल सब मिली गर्दछन् रे मलाई ।"
भन्दै क्रोधी वचन नबुझी भन्दछन् च्याँठ आई ॥
(१५६)
"बिक्री गर्ने मन यदि भए आज जाऊ बजार ।
यस्तो झूटो विषय ठगले किन्न यो के अपार ॥
कस्ता उल्का समय बिनुका बात गर्छौ विचित्र ।
झूटो सारा छल अब बुझें क्या अनौठा चरित्र ॥
(१५७)
आफ्नो कोखो अब गर खुला गर्भिणी सुन्दरी छ्यौ ।
मेरी ह्वैनौ मकन सब यो याद राम्रो छ जान ॥
भेटै हाम्रो त्रिभुवनभरी हेर ! काहीं भएन ।
को हौ को हौ अविदितमुखी सम्झना नै रहेन ॥
(१५८)
मैले तिम्रो न त श्रवणले नामसम्मन् सुनेथें ।
भेटी काहीं न त्रिभुवनमा एक बातै भनेथें ॥
झूटो बट्टा विमल यशमा दाग्न आयौ तिमी के ?
को भन्ठान्यौ मकन जसले इन्द्र तुच्छै गनेथें ॥
(१५९)
आमै ! छोरीकन लग त यी ह्वैन यो गर्भ मेरो ।
झूटो वार्ता नगर अब लौ काट्दछ्यौ राज्य-फेरो ?
कस्तो होला स्मृति पुरुषको गर्भिणी जो नचिन्ला ।
जाऊ जाऊ शहरतिर यी सुन्दरी एक किन्ला ॥
(१६०)
Page:Shakuntala.pdf/302
Appearance
This page has been proofread
