ज्यादा बसेर पर– माइतिमा रहेर ।
बिग्रिन्छ धेर घर विस्मृतिबाट हेर ॥
आँखाअगाडि नरहे यदि रूपवाली ।
लाग्ने अरूतरफ यो छ जगत्प्रणाली ॥
(५)
भुल्छन् सदा पुरुषले, अघिका प्रतिज्ञा ।
बन्छन् सदा भ्रमररूप र रङ्गसामु ॥
आफ्ना अगाडि रहनेकन मात्र देख्छन् ।
शृङ्गारदार रसका उपभोग राम्रा ॥
(६)
कन्या विवाह नहुँदातक माइतीकी ।
आफ्नो घरैतिर हुने पछिलाइ फेरि ॥
सम्पत्ति यो छ जसको उसलाइ सुम्पे
आनन्द बस्छ दुइतर्फ सदैव गम्की ॥
(७)
चाँडै तयार गर यी घरतर्फ जाऊन् ।
बिर्सेर बस्न नृपले घरमा नपाऊन् ॥
रानी बनून् महलकी पतिसाथ पाऊन् ।
चिन्ता समस्त मनका सहजै हटाऊन् ॥"
(८)
यस्तो सुनी वचन ती ऋषिका तयारी ।
गर्दीभइन् घर पठाउन निम्ति भारी ॥
ती गौतमी, बहुत दी उपदेश राम्रा ।
चाँडै पठाउन भनी घरकी बुहारी ॥
(९)
"ठट्टा नगर्नु गिजिएर नबस्नु नानी !
के भन्नुपर्छ र तिमी यति शान्त ज्ञानी । ॥
हँस्सी बनाउँछ सधैं हलुका मिजास ।
गम्भीर भाव लिनु राख्नु यथेष्ट लाज ॥
(१०)
Page:Shakuntala.pdf/227
Appearance
This page has been proofread
