This page has been proofread
अष्टादश सर्ग
(वसन्ततिलका)
आयो त्यहाँ खबर पङ्ख लिएर छीटो ।
एकान्त शान्त वनमा शरदीय मीठो ॥
"दृष्यन्तले समरमा विजयी बनेर ।
झण्डा लिए अमर कीर्ति हुने गरेर ॥
(१)
खोला असङ्ख्य रिपुको रणमा बहाई |
लाली भरे जलदमा सब कीर्ति छाई ॥
मानो नवोदित प्रभाकर झैं सुवर्ण ।
बन्दै फिरे गगनमा कवि पङ्ख लाई ॥"
(२)
सन्देश एक नृपबाट नपाउँदामा ।
आशा निराश हुन गै दिन धाउँदामा ॥
चिन्ता परेर ऋषिका मनमा अधीर ।
ठाने नृपेशकन क्यै दिलका कठोर ॥
(३)
भन्छन् "अचम्म हुन गो अझसम्म केही ।
सन्देश छैन नृपबाट शकुन्तलामा ॥
हुन्छन् सुकोमल सफा दिल शीघ्र स्नेही ।
धोकासमान म त बुझ्छु विलम्ब लामा ॥
(४)