रन्की आँखा नयन दुइका बीच भौनेर रन्न ।
फन्की जाँदा ऋषिकन सुने झट्ट साथीहरूले ॥
ढुङ्गा बन्दा क्षणभर सफा त्रास पर्दा कुँदेका ।
आए आँखा टलपल गरी ती पुकारी दगुर्दै ॥
(३५)
जोडी भन्छन् कर विनतिले "मूर्तिमान् हे तपस्या !
सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन् ॥
बेचाराले झकभर न ली रातमा नीद ठण्डा ।
गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥
(३६)
ती छन् पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म ।
त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥
हुन्छन् ठूला ऋषि हृदयका कोमल ज्ञानसिन्धु ।
राखी माया झुकिदिनुहओस् शापको तीक्ष्ण शूल ॥
मर्नेछन् ती नत नयन झैं भै जगत् अन्धकार ।
साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ?
(३७)
लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी ।
पर्छौ पस्री चरण दुइमा हे कृपाका पयोधि !
ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै ।
फिर्ता बक्स्योस् स्मृति वचनले बक्सियोस् प्राणदान ॥"
(३८)
भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।'
भन्ने ठानी नजर दुइले रीसले चट्ट हेर्दा ॥
आधा सुन्दा प्रखर तपका ग्रीष्मका सूर्यज्वाला ।
दुर्वासा ती अलि पर अडे प्राणबाधा सुनेर ॥
(३९)
सोची भन्छन् "अब पनि यसै गर्दछ्यौ के मुकुण्डो ?
कर्म्मै धर्म्मैकन सब त्यजी साधु श्रद्धा नराखी ॥
कानै छैनन् जुन घर पुकाराहरूमा तपस्वी ।
त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि
(४०)
Page:Shakuntala.pdf/223
Appearance
This page has been proofread
