माया जस्ती तरुण मुखकी हेर ! सेती मकुण्डी ।
आत्मा बिर्सी अनृत ढँगले कामकी उग्र चण्डी ॥
यो पापी हो नजर नदिने सत्य कर्तव्यतर्फ ।
विश्वै डग्ला द्विजकुल सबै बिग्रिई जान्छ नर्क ॥
(२९)
"को छन् ए यो घरतिर, कनै कान छैनन् यहाँ के ?"
भन्दा ऊँचा स्वरसित, तिनी क्रोधले दन्दनाए ॥
बेपर्वाही युवति नसुनी नासिकातर्फ झुक्थिन् ।
बायाँ फर्की कर शिर झुकिन् भालले छुन्छ औंला ॥
(३०)
दुर्वासा भन्छन नि "जडता यत्तिको देखिएछ ।
कस्ती अन्धी उपल-बहिरी शून्यकर्तव्यचित्त ॥
काली माया धवलमुखकी ! जाड्यकी अन्धकार !
देख्दै दन्की हृदय तपको सल्किने बारबार ॥
(३१)
यस्तै मूढा यस विपिनमा पर्दछन् जाड्य-मूर्छा ?
बोल्दा कोही द्विज ऋषि यहाँ छैन केही जवाफ ?
यस्तो कालो तिमिर निशिको स्तब्धता पानहीन ।
फर्कन्छन् के ऋषि, द्विज तथा साधु यस्तै गरेर ?
(३२)
यो बेहोशी क्षणभर लिए मारका मार खाई ।
नासी जाने द्विजकुल सबै च्याँठलाग्दो मलाई ॥
देखिन्छे यो मदन सपने शिष्ट आचार त्यागी ।
ध्वाँसो बन्छे कलुषहरुकी कल्पना बन्छ दागी ॥
(३३)
मेरो आत्माकन पिर दिने खिर्खिरी यो लगाई ।
सारा राम्रा मृदुल वनमा च्याँब हाल्दी जगाई ॥
बल्दी ज्वाला विरहहरुकी कामकी रूपलाई ।
बिर्सोस् यस्तै प्रियतम पनि प्राण दुःखी गराई ॥"
(३४)
Page:Shakuntala.pdf/222
Appearance
This page has been proofread
