नाचूँ नाचूँ भन्दछन् छाल छम्छम् ।
झल्का झिल्का झल्झलाएर झल्झल् ॥
धप्कूँ धप्कूँ भन्दछन् शैलशृङ्ग ।
भन्छन् खोला गाउँदै जाउँ कल्कल् ॥
(४१)
ढुङ्ग्री लाई स्वर्गका जाइ हाँसी ।
लाली झुम्का लाउने चट्ट कल्की ॥
बेली बन्छे प्रेमको युग्म छाती ।
नाला राम्रा फुल्न लागे गिलाँस ॥
(४२)
जूँघा लाग्यो पुष्पले हेर जूँघे ।
ठट्टा गर्दै आजको यो बिहामा ॥
बोल्थे सारा जिन्दगी जिन्दगी नै ।
स्वप्ना पस्थी जिन्दगीको सँघार ॥
(४३)
फुल्दो बन्दो जिन्दगी आज खुल्दो ।
हावा बास्ना चित्तको भन्छ चोरूँ ॥
आधी छिप्ने आधि खुल्ने प्रभाव ।
लज्जा भारी बैंसको हो स्वभाव ॥
(४४)
गाला राम्रा फूलका हेर आज ।
लाली लाली छन् कहीले सुनौला ॥
बोले गाभा मञ्जरी चारु नाचे ।
नीला राता शब्दले अङ्ग भाँचे ॥
(४५)
भित्री आशा बीच काँढा छिचोली ।
फुल्थी फुल्थी आज पाई प्रकाश ॥
इन्द्रेणीका रङ्ग वर्लेर छिर्बिर् ।
बन्दा जस्तो हर्ष भो आज तिर्मिर् ॥
(४६)
Page:Shakuntala.pdf/214
Appearance
This page has been proofread
