छीटो छाती उप्सिई ओर्लिएर ।
चाला जस्तो कोकिलाको लिएर ॥
पारावारै बैंसको उर्लिएर ।
छुन्थ्यो जान्थ्यो तुल्य त्यो छाल हेर !
(३५)
रङ्गी-चङ्गी फूलका भाव मीठा ।
चल्थे वल्की ती शिरामा नवीन ॥
झल्की-झल्की छाल झैं मालिनीका ।
स्वप्ना जान्थे हृद्जगत्मा झझल्की ॥
(३६)
सौन्दर्यैकी कोमला दिव्य रानी-
लाई मानो रश्मिले स्वर्गबाट ॥
रानी हाम्रो विश्वकी हो भनेर ।
मानो जान्थे पाउ राम्रा चुमेर ॥
(३७)
कोही कोही फूल छर्थे विवाह ।
रोई रोई हर्ष हीरा उज्यालो ॥
बत्ती बाल्थे फूलले दिव्य रङ्गी ।
धूपै जल्थे मग्मगाएर श्वास ॥
(३८)
पारावारै पार आई समीर ।
सन्देशार्थी केश छोएर जान्थ्यो ॥
राती हाम्रो दूरका द्वीपबाट ।
आयो खोली स्वागतार्थी कपाट ॥
(३९)
फुल्दा हाँगा भन्दछन् चारु चारु ।
हाम्रा लावा बर्बराएर झारूँ ॥
उड्दा पन्छी भन्दछन् स्वर्गसम्म ।
रङ्गी-चङ्गी हर्ष फर्फर् फिँजारूँ ॥
(४०)
Page:Shakuntala.pdf/213
Appearance
This page has been proofread
