सुरीला फुल्दा ती सुरवनपरी, बैँस असर ।
उज्याला पाएका गुनगुन गरी गान मधुर ॥
टिपी राम्रा राम्रा रँगसहित अम्लानकुसुम ।
गलालाई गुँथ्थे अति ललितमाला हरदम ॥
(३५)
तिनै नाच्थे छम्छम् कुसुमपदले कोकिल-ध्वनि ।
पखेटा फर्फर् भै रससहित लच्कीकन घुमी ॥
जुनेली जादू झैं वसन पतलामा अधखुला ।
नितम्बी रेखा भै रस मधुरले मोहनकला ॥
(३६)
नटी नाच्थे छम्छम् गिरि-विपिनका निर्झर कला ।
छरी हीरा झल्झल् लहर हँसिला, नृत्य रसिला ॥
जुहारी शोभामा स्वर मधुरले नन्दन-वन ।
सदा पार्थे गाना लहर हरियो पुष्पित धन ॥
(३७)
करोडौँ द्याैताका मुकुट-मणिले पाउ सजिने ।
रिसाएमा सारा शिखर डरले थर्थर हुने ॥
अनेकौं योद्धाका असुर शिर-छेदी कूलिशवान् ।
डराए ती इन्द्रै थरहर, हुँदा त्यो तप महान् ॥
(३८)
गडड्गड् गड्कन्थ्याे घनमहिम भै शक्ति जसको ।
चचड्चड् चड्कन्थ्यो गिरिशिखरभेदी कूलिश त्यो ॥
झझल्झल् झल्कन्थ्यो घनु पनि जगत्का नजरमा ।
तपस्वीको ठूलो बलअघि त्यही दन्छ डरमा ॥
(३९)
तपस्याका तेजी विपिनतटमा निश्चल थिए ।
जगज्जेता जस्ता जटिल जगतीजाल उखडी ॥
जटाजूटी ध्यानी, परम प्रभुका सन्निधि भई ।
उज्यालो बाटाको पथिकसरि भै शान्त विजयी ॥
(४०)
Page:Shakuntala.pdf/21
Appearance
This page has been proofread
