Jump to content

Page:Shakuntala.pdf/20

From Nepali Proofreaders
This page has been proofread

थुनेका छन्‌ दोटै श्रवण बलले भित्री मनको ।
छ व्यापारै बन्दै विषय-विष मारेर तनको ॥
असङ्कल्पी ध्यानी विमलदिलका, पर्वतसरि ।
निशामा छन्‌, अड्दा पवन, नचलेका रउँ-मुना ॥
(२९)

अँध्यारो भो सारा जगत अब कालो तिमिरता ।
निभे बत्ती कालारँग सब मिली कृष्णरँगमा ॥
उज्यालो भो यौटै कमलदिलको भै विकसित।
बने जीवात्मा ती भ्रमरसरि चुस्दा हरि-रस ॥
(३०)

गए फ्याँक्दै फ्याँक्दै तह तह अनेकौं तिमिरका ।
उडे पत्रे बोक्रा, जब ऋषि बसे शान्त तपमा ॥
उडेका ती आत्मा सुरपुरतिरै उन्नत भई ।
उठे बज्रीलाई अब भय महाभीषण दिई ॥
(३१)

हरे ! हामी भन्छौँ त्रिभुवन जितौँ शस्त्र-बलले ।
गुनी सेना सङ्ख्या रुधिरपथमा झूट छलले ॥
अहा ! सत्‌को प्यारो सुखद पथमा शान्त विजयी ।
अशोकै छन्‌ यौटा कि त अघि थिए काैशिक यिनै ॥
(३२)

परीक्षा ठूला छन्‌ जटिल तर यो शान्ति-पथमा ।
करोडौँ सेना छन्‌ समर पनि छन्‌ शान्त रणमा ॥
यिनैलाई जित्नै कठिन छ मिही अस्त्र-बलले ।
जिते सारा आफैं अमरपति जित्छन्‌ सहजले ॥
(३३)

परीका गाला झैं रसमधुर प्यालाहरु लिई ।
विलासीका नेता त्रिदशपति निर्धक्कसँग ती ॥
सुगन्धी स्वर्गैको अमरपुरमा दिव्य महल
बनाई राज्‌ गर्थे, तर डर पसी विह्वल बने ॥
(३४)