लाली जो शरम छिटो थियो अगाडि ।
ऊषा झैं मृदु मुखबीच स्वर्ग छाडी ॥
त्यो थोरै अब पतला छ सुस्त सुस्त ।
बानीले विजय हने स्वभावतुल्य ॥
(५)
जो रेखा किसलयका प्रवाल बन्द ।
मोतीका लहर हुने सफा अमूल्य ॥
वन्य श्री जललहरी छिनो परेको ।
छोप्ने ती अधर खुलेर मन्द चल्छन् ॥
(६)
आँखाको चमक बनेर शब्द झर्थे ।
ती टिप्दा दृग ,नृपका गमक्क पर्थे ॥
ती भाषा गति-चपला सिँगारदार ।
झल्काले विवरणसाथ अर्थ लिन्छन् ॥
(७)
बोल्नैको रहर छिटो छ भित्र भित्र ।
बाधाले दिल तर रोकिने विचित्र ॥
ज्यादै नै मृदु दिलका मिहीन भाव-
लाई के प्रकृति अरू दिऊन् र हाय !
(८)
दोटै छन् लवज छ कोयलीसमान ।
आच्छन्ना किसलयमा वसन्त चारु ॥
बोल्दा ती मधुमय वन्य भाव सारा ।
गर्दी ती मुखरित छन् मिठासद्वारा ॥
(९)
थोरै नै समयपछाडि ती उज्याली ।
जो बोल्थिन् मनको मिठास चारु हाली ॥
पातैका मधुर रसनाहरू मिलेर ।
बैंसालु प्रकृत मुहारतुल्य हेर ॥
(१०)
Page:Shakuntala.pdf/208
Appearance
This page has been proofread
