This page has been proofread
षोडश सर्ग
शकुन्तला विवाह
(प्रहर्षिणी)
लज्जाका सित पहिले बनी अबोला ।
लाम्चा ती दृग छविला शिखारु काला ॥
बोल्नाको सरस सिकेर ढङ्ग थोर ।
हाँस्दा छन् अलि अलि मन्द मुस्किएर ॥
(१)
जो भाषा छ अधरबीच बन्द बन्दी ।
आच्छन्ना सुमदिल भित्र झैं सुगन्धी ॥
बोलूँ झैं अधर सुचारुबाट बन्दी ।
चालैले मुखरित हेर ! चारुछन्दी ॥
(२)
ढीलो जो सुमकलिको छ बन्द चाल ।
खुम्चे झैं पवन चली सुमन्द ताल ॥
त्यो नौली छ किरणको फुलेर खुल्दी ।
बास्नाले मधुर छिटी छ चारु झुल्दी ॥
(३)
जो बाला सुमकलि झैं लिएर दाना ।
आँखामा सरस निशीथ बन्द पाना ॥
छातीका तह तहमा भएर नाना ।
रुन्थी त्यो मुदितमुखी छ मूक गाना ॥
(४)