ध्वनि मृदु मुरलीका चल्दछन् श्वाससाथ ।
स्वर मधुर बनेका मञ्जरी फूल पात ॥
अनि विहग गलाले टिप्दछन् रङ्ग रङ्गी ।
ऋषि-हृदय झुलाई नृत्यमा भर्न भङ्गी॥
(१५)
विटप बहु-प्रशाखा जिन्दगी झैं खडा छन् ।
खबरहरु चरा छन्, स्वर्गसन्देश-चारु ॥
बहुविध रस खोज्ने, गुप्त तृष्णा जरा छन् ।
कुसुमहरु कला छन् रङ्ग चढ्दा सुरा छन् ॥
(१६)
दिन दिन छ खुलेको वन्य आनन्द दिव्य ।
कुसुम मधुर पाना रेखिँदो रङ्ग सभ्य ॥
तह तह छ किताबी अक्षराऽऽभास भारी ।
प्रकृतिहृदयमा छन् पाठ राम्रा विहारी ॥
(१७)
अलि पर बहँदी छन् मालिनी कल्कलाई ।
जलधि भजन तृष्णा बोलमा झल्मलाई ॥
ऋषि सहृदय सिक्छन् छन्द त्यो भावभित्र ।
विपिनसरि जगत् यो फुल्छ बन्दै विचित्र ॥
(१८)
प्रकृतपन नशामा, अङ्गमा वन्य भाव ।
हृदय-कुसुम-गन्धी वल्लरीका स्वभाव ॥
नयन मृदु कुरङ्गी बोल कल्लोलवाला-
सहित मधुर बैंसे फुल्दछन् वन्य-बाला ॥
(१९)
झिलिमिलि न छ खल्लो चाहना चारु थोर ।
प्रकृत गति र गाना शान्तिको तुल्य शोर ॥
ऋषिमहल हरीयो पात झुम्का सिँगार ।
विटप विविध खम्बा कुञ्ज खोपी हजार ॥
सुखद विपिनवल्ली छन् नटी बैंसदार ।
मधुर लय गला छन् राज्य यो क्या अपार ॥
(२०)
Page:Shakuntala.pdf/143
Appearance
This page has been proofread
