मुसुमुसु सब हाँसे आँखिभौंबाट छासे ।
बकबक बतुरेको वाक् बनेको बतासे ॥
स्वजनतिर निहारी भन्दछन् छत्रधारी ।
"वनतिर मन मेरो बन्न लाग्यो विहारी ॥"
(९)
"सुनन कति सुरीला बोल्दछन् वृक्षमाथि ।
रँग बिरँग फुलेका चारु शाखा सगाती ॥
कसुमहरु उडे झैं बोल पाएर नाना ।
मुखरित महिमा झैं साँझ आई छुँदामा ॥
(१०)
अगणित महिमाका रङ्ग फुट्छन् हजार ।
जलद-लसित ज्योत्स्ना दृश्यका छन् किनार ॥
बहुल अधर हालूँ भाव भन्दो सुभाषी ।
कुसुम, विहग, लाली, प्रेममा चल्छ गाँसी ॥
(११)
सुखमय दिल जो जो बोल्न सक्तैन बोल ।
पुलकित तरु बोल्छन् नीड पाली अमोल ॥
अनुभवहरु राम्रा फैलिँदी कल्पनामा ।
स्मृतिमय क्षण झल्की शान्ति लुक्ने कुनामा ॥
मुखरितसरि बोल्छन् अर्थ नाघ्नेपनामा ।
(१२)
लहलह हरियोमा जिन्दगी झुल्छ रङ्गी ।
समररहित मीठा शान्तिका भाव-भङ्गी ॥
चचह चचह गर्छन् फुल्छ रङ्गिन्छ फुट्छ ।
प्रकृति हृदय, तृष्णा बन्छ आनन्द छुट्छ ॥
(१३)
अतिशय मृदु राम्रा फूलका जो जरामा ।
अधर मृदुल खोज्ने बोल्नलाई धरामा ॥
किरण मधुर भज्ने मोहिनी वन्य चारु ।
पवनसँग हिलेका छन् हँसीला शिकारू ॥
(१४)
Page:Shakuntala.pdf/142
Appearance
This page has been proofread
