गुलाब छन् लाल सुकोमलाऽधरा ।
बोलूँ कि बोलूँ कि समान अप्सरा ॥
सुचारु रेखा तहदार चारुता ।
फुकेर छाती मृदुपात भर्दछन् ॥
हवा छिपेका जब गुह्य चोर्दछन् ।
(९)
शराव झैं लाल सुडोल बैंसका ।
कपोलमा षड्पद झुम्न झर्दछन् ॥
मौका ढुकी चुम्बन चारु गर्दछन् ।
जहाँ फुली कोमलता मनोहर ॥
छुवाइमा स्वर्ग सरर्र झर्दछन् ।
लाली र लज्जा रस स्वास छर्दछन् ॥
सुवास मुस्की सुकुमार सार छ ।
प्रफुल्लता बैंस लिँदो मुहार छ ॥
तथापि राम्रा रमणी कपोलमा ।
सुचारु लाली अझ दिव्य सार छ ॥
(१०)
हवा भजी पङ्ख फिँजी ढलक्क ती ।
गरेर भूँ भूँ भमरा झुली कति ॥
चुसेर त्यो यौवनको सुधारस ।
बनीरहेछन् तरुमा मदाऽऽलस ॥
तथापि कालो छ टलक्क टल्किने ।
कपाल त्यो रेशम झैं सुधारस ॥
बनेर कालो रँग जन्मिएसरि ।
सलक्क केस्रो लहराउँदो झरी ॥
(११)
कुरङ्ग हुन्छन् वनमा रमाइला ।
अनङ्गका पुष्पित कुञ्जमा हरा ॥
फुलेर झुल्छन् लहरा जहाँ सुनी ।
बुट्टा बनी निर्झरका नयाँ कुरा ॥
Page:Shakuntala.pdf/120
Appearance
This page has been proofread
