टलक्क टल्केर हराशिरा धरी ।
पछाडि खेरा कलिका-भुवा भरी ॥
कडा र ठाडा जुन पात बाहिरी ।
बढाउँछन् कोमल शुभ्र माधुरी ॥
सुवासका पत्र सफेद घाम झैं ।
फुकीलिने षड्पद कोषमा धरी ॥
खिलाउँदै त्यो मकरन्द माधुरी ।
छ गुप्त गट्टासँग जो सुधासरि ॥
छुँदा पहेँलीकन घाउ लाग्छ जो ।
छ फुक्न उप्सीकन शुभ्रता भरी ॥
थियो त्यहाँ बोटसमान बैंसको ।
फुकाउँदो कुड्मल वक्ष कोमल ॥
सुरेख भै प्रेम लिएर फैलिँदो ।
उँचाइमा षोडशवर्ष माधुरी ॥
बराबरी कोकिल शब्द सुन्दर ।
तथापि फुक्दा स्तन पद्म-कोपिला ॥
कपोलका चाँद र कोयली-गला ।
सफा हँसीला तुहिनाभ्र अङ्गका ॥
ठिटी त्यहाँ छन् अझ हेर सुन्दरी ।
(७)
फुलेर जाई छ सुवर्ण-सुन्दरी ।
झिना-मुना-मञ्जुल केशले भरी ॥
गरी सुनौला मधुपूर्ण डाँठमा ।
जडाउ ढुङ्ग्री हँसिला फुका गरी ॥
सुवर्ण काटीकन वास दीकन ।
मिलिन्द डाकेर सिँगार सुन्दरी ॥
छ बैंसवाली नरलोककी परी-
तथापि बैंसे कमनीय बोट छन् ॥
फुलाउने षोडशवर्ष माधुरी ।
हवा भरी बास मिही फिँजाउँदा ॥
उ मात गर्ने हँसिला सुवर्ण छन् ।
मुनामुना केश सुहाउँदा परी ॥
(८)
Page:Shakuntala.pdf/119
Appearance
This page has been proofread
