This page has been proofread
द्वादश सर्ग
(वंशस्थ)
अडेर हाँगाहरुमा हराभरा ।
फुलेर झुल्छन् लहराहरू हरा ॥
नसा कलेजा छ र पात मञ्जुल ।
सुरेख, चिल्ला, छरिता, फरासिला ॥
सलक्क हुन्छन् हलुका र बान्किला ।
(१)
चुरी छ नङ्ग्रा पनि रेशमी हरा।
अडान खोज्छन् तरुमा मनोहर ॥
फुलेर हाँसेर मुसुक्क सुन्दर ।
अडाउँछन् ती मृदुबैँस घूँघुर ॥
सहर्ष प्रेमी तरुका भजी उर ।
(२)
झुकीरहेका तल शान्त सुन्दर ।
द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥
त्यजेर उड्छन्, तरुपाद छाँदले ।
छुँदै, हवाको पथ प्रेमको लिई ॥
सुनेर प्रेमी तरुका चरा-कुरा ।
(३)