"कृहू, कुहू" छ कोयली, सुगाहरू कराउँछन् ।
कतै त्यहाँ "पिवी पिवी" कतै त कुर्कुराउँछन् ॥
"चिरिर्र" चिर्बिराउँछन् चरेर चुर्बुराउँछन् ।
"चिँचीँ चुँचूँ कुलुल् कुलुल् ! चचच्चले" चलाउँछन् ॥
सुसेलिंँदा र केलिँदा, कराउँदा र कुर्लिदा ।
फुली भुली र कोयली छ शब्दिता वनस्थली ॥
अनेक शब्द मोहनी रँगीन कण्ठमा खुली ।
(३७)
कतै छ फूल सौख्य झैं कतै छ दुःख सङ्कट ।
कतै हरा, कतै जरा, छ घाम स्याँल औ टक ॥
अनेक जन्तुले भरी स्वभावको थरी थरी ।
जगत्समान रूपकी वनस्थली छ सुन्दरी ॥
(३८)
कला सुचारु देखियो फुली सुहाउँदो थला ।
यहाँ छ हेर ! सुन्तला सुवासदार कुन्तला ॥
अनेक फूल बोट छन् चुनी बढाइँदा भला ।
कुटी नजीक कण्वको भई अवश्य मञ्जुला ॥
(३९)
क्षितीशपार्श्व दाहिना फरर्र फर्फराउँदा ।
यहाँ छ प्रेम सूचना भनेर भित्र आउँदा ॥
कुरा चरासमानका गरेर बागमा डुली ।
घडा लिने ठिटीहरू, गुलाफबैंसमा फुली ॥
सशङ्कचाल सुन्दरी फुलारु वन्य माधुरी ।
वसन्त बैंसमञ्जरी अरण्य-वासिनी परी ॥
सुचारु-अङ्गवल्लरी-प्रसूनतुल्य-वल्कला ।
त्यहाँ झल्याँस्स देखिए सुमिष्ट-कोयली-गला ॥
"लुकेर हेर" भन्दछन् छिपी क्षितीश तेजिला ।
(४०)
Page:Shakuntala.pdf/116
Appearance
This page has been proofread
