This page has been proofread
(२०)
लावा चन्दन फूल फेर् अविरको वर्षा बहूतै भयो ।
वेद्पाठ् नाच र गान सब् सहरमा एक्एक घर्मा थियो ॥
राजाले पनि पुत्रदेखि मनमा अत्यन्त खूशी भये ।
गाईदान असंख्य द्रव्य द्विजमा दुःखीहरूमा दिये ॥
(२१)
थिये उत्सव धेर् तहाँ वरुणजी सामान्य जस्ता बनी ।
आये ती द्विज-रुपले नृपकहाँ के भन्छ यस्ले भनी ॥
राजन्! पुत्र भयो भनी खबर यो सूनेर आएँ यहाँ ।
संझी सत्यकबोल यज्ञ गरलौ छाडी अरू काम् यहाँ ॥
(२२)
आज्ञा सुनी वरुणको नृप हड्बडाई ।
बिन्ती गरे अघिसरी अधिकै डराई ॥
हे नाथ ! गर्दछु म यज्ञ तथापि रानी ।
सुत्केरिछन् म पनि छू अपवित्र जानी ॥
(२३)
पर्खी दिनोस् अवधि दीकन एक मास ।
गर्छू अवश्य अनि यज्ञ म हर्ष साथ ॥
बिन्ती सबै ति नृपको सुनि फेरि ताहाँ ।
भन्दा भए वरुण बात ति भूप माहाँ ॥