(१६)
तेही बालक यज्ञमा बलि गरी दिन्छौ भने त्यो घरी ।
होला दिन्छु कबोल यो गर तिमी हूँदैन दोस्रो गरी ॥
आज्ञा येती सुनीसकी वरुणको राजा परे शोकमा ।
चिन्ता व्याकुलभै कसोगरुँ भनी धैर्यै लिई चित्तमा ॥
(१७)
राजाले मनमा विचार् गरिलिये एसै कसोरि तरुँ ।
छोराको मुख देखि पितृ-ऋणता छुट्नेछ मेरो बरु ॥
केही बेर यही कुरो मनमहाँ संझी हरिश्चन्द्रले ।
माग्छू पुत्र भनेर निश्चय गरी गर्छू म भन्दा भये ॥
(१८)
वाचा सत्य गरी लिए वर दिई अन्तर् वरुण भै गए ।
राजा खूशि हुँदै तरें अब भनी घर्तर्फ फिर्दा भए ॥
रानी एकशये थिए सब कहे यस्तो भयो लौ भनी ।
तीमध्ये पटरानीले नृपति को झट् गर्भ बोकिन् अनी ॥
(१९)
राजा खूशि भई क्रमै सित सवै कर्मादि गर्दैगए ।
जोइच्छा मनमा थियो महिषिको त्यो खानलाइ दिए ॥
हर्षैले दश माश पूर्ण जब भो छोरो भयो सुन्दर ।
भारी उत्सव भो अनी शहरमा भो मङ्गलै मङ्गल ॥
Page:Satya harihschandra katha.pdf/8
Appearance
This page has been proofread
