This page has been proofread
(८०)
उठि कन धन काहीं मिल्छ की माग्न जानोस् ।
झटपट कि मलाई नै कतै बेच्न लानोस् ॥
पछि त हजुरलाई पुत्र यो चाहिन्यै छ ।
अब त मकन बेचे द्रव्य धेर् पाइन्यै छ ॥
(८१)
राजा यति सुनि सकी कन धैर्य धारी ।
भन्दा भए सब कुरा मनमा विचारी ॥
हे प्यारि! क्षत्रिय भई कन दान दीनू ।
यै धर्म हो कसरि गैकन मागि लीनू ॥
(८२)
दीनू सिवाय लिनु होइन धर्म हाम्रो ।
यो सत्यनाशा हुन जान्छ पछी न राम्रो ॥
यस्तो मलाइ तिमिले न सिकाउ रानी ।
यो काम गर्दिन कसै म अयोग्य ठानी ॥
(८३)
मर्नू निको अरु हुँदैन लिनू यसोरी ।
बेचूँँ लगेर तिमिलाइ अहो! कसोरी ॥
बेचिन्छु मै बरू प्रिये! तिमि पुत्र लाई ।
पालन् गरेर बस दुःख परोस् मलाई ॥