This page has been validated
७०
मुस्कीलले घुमेका छन् कोल काईं-कुईं गरी ।
प्रारब्धको घचेटामा बिचरा जज्जनै-सरी ॥
७१
प्रारब्ध-यन्त्र झैँ कोल, उखू विषय कर्कश ।
कष्ट-साथ चलायेर झिक्नुपर्छ सफा रस ॥
७२
समाती कोलको कात्री कष्ट-साथ कठैबरी !
रसलोभी घुमेका छन् लाखचौरासीमा सरी ॥
७३
कोल हर्दम् घचेटिन्छन् अँचेटिन्छन् उखू सब ।
अन्तरैमा परी जान्छ सोझाको गुण-गौरव ॥
७४
धूलो-पिठो भए सारा उखू त्यो कोलमा परी ।
कालका मुखमा मानू सृष्टिको महिमा-सरी ॥
७५
हेमन्त-कान्ति कालिन्दी, वासन्ती-कान्ति जाह्नवी ।
प्रयाग-तुल्य दोरङ्गा माझको शिशिर-च्छवि ॥
७६
वसन्त नगिचै आयो खुले केही दशै दिशा ।
अरुणोदय-बेलामा किन हुन्थ्यो महानिशा ?
७७
घटदै घटदै आयो छटा हेमन्तको सब ।
सङ्ग-माफिकको रङ्ग सबैको हुन्छ वास्तव ॥
७८
उता हेमन्तको रङ्ग, यता रङ्ग वसन्तको ।
अहो ! शिशिरको तेसै पाउने अब अन्त को ?