This page has been validated
६१
हालमा नयनाऽऽनन्दी हरियो कान्ति-माधुरी ।
गहुँ-बारीसिवा अन्त छैन यो पृथिवी-भरी ॥
६२
गहुँका हरिया साना पातमा बिन्दु शीतका ।
पन्ना-माथि जडायेका मोती झैँ देखिये निका ॥
६३
पापी शिशिरको सेतो शीतको शीत-निर्मित ।
छाता झैँ रातमा चन्द्र देखिन्छन् शैत्य-पूरित ॥
६४
उनै पूर्ण-कलाधारी सुखकारी सुधामय ।
इन्दुका चाँदनीबाट हुन थाल्यो सदा भय ॥
६५
धामी-तुल्य सबै लोक काँपेका देखि थर्थरी ।
चन्द्रले चाँदनी-रूप खित्का छोडे कि बेसरी ?
६६
चीसो तपतपाऽऽकार चाँदनी-रूप चादर ।
ओढी उग्र तपस्यामा मस्त छन् कि निशाकर ?
६७
हालमा चन्द्रको छैन सूर्यको झैँ प्रशंसन ।
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा नरम्-पन ?
६८
भयेदेखि हिजो-आज उनै साथी उनै मनी ।
सहसा शीत-बाधाले सकदैन छुनै पनि ॥
६९
बढालू रसिला सोझा जाति-जम्मा उखू-कन ।
लोक लाग्यो विजेता झैँ चूर्ण पारी चपाउन ॥