Jump to content

Page:Ritubichar.pdf/52

From Nepali Proofreaders
This page has been validated

८८
कहाँ उस्तो हिलो मैलो, कहाँ यो मोहिनी छवि !
कति राम्रो उदायेको विश्व सौभाग्यको रवि ॥

८९
वर्षाले जलले पूर्ण मेघ-मण्डलमा पसी ।
चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी ?

९०
चन्द्रको चाँदनी-रूप झल्कँदा राति गौरव ।
कपूरले लिपे-जस्तो देखिन्छ जगतै सब ॥

९१
आनन्दी देवता-तुल्य चन्द्रका रश्मिजालमा ।
पीङका रङ्गमा दङ्ग देखिन्छन् सब हालमा ॥

९२
जुनेली रातमा राम्रो सुन्दा चहचह-ध्वनि ।
फनक्क भुमरी मारी घुम्छ आनन्द फन्फनी ॥

९३
पुरानू विजय-स्तम्भ-रूप राम्रो सुविस्तृत ।
यो दशैँ-चाडमा मिल्छन् धेरै सिद्धान्त अङ्कित ॥

९४
जसरी पीङ मच्चिन्छ हिन्दू-जाति उसै गरी ।
विश्वमा मच्चिँदै घुम्थ्यो जयका जमरा धरी ॥

९५
यै शरद्‌मा दशैँ हाम्रो, यसैमा दीप-मालिका ।
यसैमा धान्य-सम्पत्ति, धन्य यो सुख-तालिका ॥

९६
माथमा जमरा माथी जमाई गुण-केशरी ।
नर-नारी जमेका छन् विजयाऽऽनन्दमा परी ॥