This page has been proofread
(१४)
केलाएका झार भुवा
सुनका तारले फड्कन्छन् ।
सीलको छाला मारेर
गुलाफ जलले छर्कन्छन् ॥
तकिया त्यसको लम्याई
केश ती काला लर्कन्छन् ॥
चरी-भुवा डसनामा
परीका करले फर्कन्छन् ॥
(१५)
तर छन् रानी लूनीलाई
नजर भुलभुल छिनछिनमा ।
कपाल दुख्यो भन्दछिन्
बादल हाली ती मनमा ।
(१६)
सम्झिन् उल्टो 'लूनी' ले
चाङना बस्ने झोपडी
तारामण्डल झ्याङप्वाले
खरको छानो आलटाले
बाङ्गोटिङ्गो कटेरो,
स्याउलाको ओछ्यान लाएको,
कम्बल पाखी झुत्राको
स्वर्ग जस्तो त्यो घडी ।
जहाँ गुड्थ्यो विट्विना
घैँटे जलको लडिबुडी ॥