This page has been proofread
कमल हिउँ छालामा
रजहाँसका चालामा
नाच्छन् परी अप्सरा
उकाला र ओराला ॥
(३)
"सुन जलपकी परखालकी
बुद्धको सुनको दरबारकी,
बिहान देवी हिमालकी
ओर्लि एक दिन टेकिन् रे !
पयरले सुन सुन भरमारमै
सिङ डोङ्गारको फेदीमा ।"
भन्छन् हाम्रो ह्लासामा ।
त्यसैले सुनको खानी भो
झलझल सुनको राशमा ॥
(४)
हिमालभन्दा गहिरो छ
सुनको दरबार पृथ्वीको ।
भन्छन् लामा ह्लासाका
खम्बामा जसका हीरा छन् ।
मोती मुगा खासाका ।
(५)
पश्चिम हिमाल छेउमा
दिनको बाटो तताई ।
धपधप बल्ने दिन– आँखा
सूर्य नामका सुहाई ॥