Jump to content

Page:Laxmi nibandhasangraha.pdf/79

From Nepali Proofreaders
This page has been proofread

आषाढको पन्ध्र

नेपालमा खुशियाली छ । हृदयले नवागत पाहुनाको प्रेमपूर्वक स्वागत गरिरहेछ । क्षितिजको किनारमा पूर्वका डाँडामाथि आजको प्रभातको मनोहर मुहान देखिनासाथ टुक्रिएका बादलका छिरबिरे फैलावटमा आनन्दको गुलाबी रङ्ग चढ्यो, एकै छिन पृथ्वीलाई स्वर्गको रङ्गले हलुका तवरले छायो । आजको लालीमा विशेष मोहनी थियो । आजको उदयमा हृदयको विशेष उल्लास थियो, प्रेमको अवलोकनले प्रकृतिका सौन्दर्यमा वैचित्र्य थप्तछ, भावको रङ्गले दुनियाँको रङ्ग चढाउँछ, नेपालको हृदयमा आज मधु तरंगहरू खेलिरहेछन्‌। पुकारा सुनेर स्वर्गको प्रत्युत्तर आउँदा हुने कृतज्ञता र आह्लाद आजको दिनमा छ। ईश्वरको आज्ञाले तथा सन्तानउपरको करुणाले पृथ्वीले कलिलोपन लिएकी छन्‌ । हामी सुनौला बोलीको आशाले बीउ रोप्न जान्छौं । हातमा हरिया धानका बीउ छन्‌, हृदयमा आनन्द र आकांक्षा, मुटुमा हलुका लयदार स्पन्दन, गलामा उर्लंदो दिलको मधुर गान । आज हामीहरू दबदबे, कलिला खेतमा पस्तछौं । आज नेपालमा खुशीको रोपाइँ छ, आज आषाढको पन्ध्र हो ।

कृषिप्रधान देशमा रोपाइँको दिनभर देशको महोत्सव हुन्छ । यस दिन अलग-अलग कुनामा खुम्चिएर रहेका झोपडीहरूलाई जीवनको जादूले छुन्छ । किसानको आँगनमा झिसमिसे बिहान भई वनस्पतिको देवदूतले आवाज दिन्छ । किसानका बालबच्चाहरू साना हातका खुशिला थपडीले बिहानको स्वागत गर्दछन्‌ । खेतीवाल पनि बिहानीपखको मीठो सपना सपनामा आँखा चिम्लेर उत्तिकैमा मीठो बिपनामाथि आँखा खोल्दछ । बालकहरूको मीठो बोली, मघुर हास्य तथा उफ्रनु देखेर खस्रा ईमान्दार हातले जोडदार चुड्की बजाउँदै गाउँले गीतले उनीहरूलाई एकै छिन नचाउँछ । बालकहरूकी आमाचाहिं निर्दोष खुला चालले हाँसेर चमकदार आँखाका ज्योति जगाउँछे, तब रोपाइँका निमित्त तयारीको शुरू हुन्छ ।