मर्दछ । चन्द्रमाका कला झैं प्रकृतिको स्थितिमा यो कुनचाहिं कला हो ? संसारलाई रहस्यले छाइरहेछ । हामीलाई हेर्न र आश्चर्य मान्न दिएको छ। हृदयमा संसारको सूक्ष्म चित्र रहन्छ । उज्यालो रजनीको जुनेली हावाको रस शीतको थोपामा जमेर फूलमा झल्किएझैं हृदयमा संसारको वैचित्र्य झल्कन्छ । हाम्रो हृदय नवीन चैतन्यको प्रभातमा मुस्कुराएर उठ्दछ।
यो रंग र रूप, रस र गन्धको अनौठो खेलमा केही सार छैन? हामी भन्दछौं–यो सब नजरको भ्रम हो । तर यसो भन्नाले हाम्रो नजरको सानो पहुँच देखाउँछ । तिनमा पनि सत्य र सौन्दर्यको सूक्ष्म आभास छ। नत्र मानिसको कविता एउटा अल्पी तरङ्गको निस्सार ताना हुने थियो । दृष्टिगोचर जगत् सपना होइन विपना हो। परिवर्तनको खेलभित्र भए तापनि यसमा असीम र परमसुन्दर विचित्र झल्काहरू छन् । जुन सौन्दर्य म एउटा फूलमा देख्दछु, त्यही म मानिसको मुखमा, स्त्रीजातिको लावण्यमा पनि देख्दछु । संसारलाई सौन्दर्यका लहरीहरूले रंगाइरहेका छन् । त्यो अनन्त सौन्दर्यलाई हरेक फूल, हरेक सुन्दर वस्तुले द्वार खुला गरिरहेछ, मानिसको हृदय यिनद्वारा सुन्दरको विचित्र देशभित्र पस्तछ । पवित्र जीवनको सौन्दर्य फूलको नातादार हो । रूप र रंगको सौन्दर्यले मानिसलाई मुटुमा छुन्छ । कविको उन्माद बहुलट्ठी होइन, सच्चा कवि भनेको सौन्दर्यवाटिकाको भमरो हो । उसको भुनभुनमा पनि मानिसलाई उत्थान र पवित्र आनन्दको सङ्गीत छ । सुन्दर सन्देश जीवनको सच्चा पौष्टिक व्यञ्जन हो ।