चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीं छ फूलको मोहनी अहा ! भँवराले गुलियो रस चुसिरहेछ । म अर्को अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस ।
एक अंग्रेजी कवि भन्दछन्, 'सौन्दर्यको चीज सधैंको आनन्द हुन्छ । सुन्दर चीज कहिल्यै मर्दैनन् । आज जुन गुलाब फुलिरहेछ, त्यसलाई परिवर्तनको हातले छुँदैन । मेरो नजरद्वारा हृदयमा घुसेर सधैं हाँसिरहन्छ । फूलबारीमा समय र अवकाशले परिबद्ध थियो, हृदयको वाटिकामा यसले ऋतु र स्थानको सीमा नाघ्दछ। पृथ्वीमा तुसारो परोस् तर मभित्र यसलाई प्रेमको अमर वसन्त छ जुन रूपमा देखिएथ्यो, उही रूपमा फुलिरहनेछ । मानिसको जीवनलाई फूलहरूले रंगाइरहेछन्, खुशबू दिइरहेछन् । फूलहरूले हृदयलाई सुन्दरतिर खिचिरहेछन् । यिनीहरूद्वारा हामी त्यस सौन्दर्यको देशमा पस्तछौं, यहाँ हरेक कदममा विचित्र आनन्द छ । परमानन्दको आभास फूलको मुहारमा झल्कन्छ ।
फूल देखेर मानिस आफ्नो असुन्दर जीवनउपर शरम मान्दछ । मेरो हृदय सुन्दर रूप लिएर फुल्न खोज्दछ, तर साधारण मूलसडकको मैला छारोले यसलाई दिनदिनै मैल्याइरहेछ, धूलोले छाइरहेछ । मेरो फुल्ने आकांक्षा फुट्न नपाएको कोपिला भइरहेछ । मेरो विकासलाई अनेक धन्दाले हावा छेकिरहेछन् । म बाहिर निस्कन छटपटाइरहेछु, तर मेरो जरामा कीराले शिकार खेलिरहेछ, मभित्र फुल्ने सम्भावना रहेको छ, तर कोपिलैमा वैलाउन लागिरहेछ । आफ्नो असुन्दर जीवनमा म घुणा मान्दछु, जब म प्रफुल्लित फूलको सौन्दर्य देख्दछु । हे मानिस ! फूलसँग आफ्नो जीवनको महान् उपदेश सिक, हृदयमा कोमलतालाई अवकाश देऊ; सुन्दर भावहरूको रङ्ग चढाऊ, भित्री जीवनमा त्यो दिव्य सङ्गति त्यो लयदार मिलाप आउन देऊ ।
हामी फूलहरूलाई हेर्दा सजिलैसँग फुलेजस्तो मान्दछौं । तर यिनको विकासलाई प्रशस्त समय र प्रयास चाहिएको थियो !
अघिल्लो वर्षको हावाले छरेको एउटा सानो बीज माटोभित्र कतातिर लुकिरहेको थियो, हिउँदको शासना खाएर तुषारोमनि यसले जागृतिको काल पर्खिरहेको थियो । तब उचित समयमा यो आच्छन्न जीवनशक्तिले, माटोको कलिलो अवस्थामा मौका पाएर खुला घाम- हावातर्फ यो उज्यालो जगत्तिर फैलिन कोशिश गर्यो । माटोतल जरा