अर्को रंग, यो अनुपम कोमलता ! कुन जादूले हरिया काँढावाल बोटको श्रीपेच गराएर यस सौन्दर्यको लाली चढायो । कुन स्थिति, कुन नियमले आविष्कार गर्यो–पत्तीहरूको यो कारीगरी, यो मिलाप, यो फुकाइ, यो लच्कँदा बाटुला घेरा, यो सूक्ष्म शरीर, यी मसिना मधुर धर्सा र धर्का, यो स्थानको औचित्य र प्रफुल्लताको वैचित्र्य ! फेरि खरिलो कलिलो डाँठउपरको लच्काइ ! यो परागकेन्द्रको मिहीन तमासा ! हावा र घामतर्फको यो उत्सुक बढाइ कुन सूक्ष्म चैतन्यले दिइरहेछ । यी हरिया पातहरूको घरमा प्रलयसमीरको झुलौनामा केले हल्लाईहल्लाई हँसाइरहेछ । यो पवित्र सजीव चाल र बाललीलाको सरसता र जीवनको तिलस्मी नाटकको खेल हो । फेरि यो मधुर सुगन्ध, मानौं त्यही सुन्दर रूपको सृक्ष्म सार, कुन जलको अगोचर बाफ उठेको हो, कन हृदयको भाव वायुमण्डलमा फैलिरहेको हो ! अहा ! यसलाई कुन अविदित हातले स्पर्श गरेर खिलायो !पृथ्वीको वक्ष-स्थलमा दूध चुसिरहेको यो शिशु, वसन्तको प्रवाहमा श्वास फेरिरहेछ । यसले यो मुस्कान कहाँबाट चोर्यो ! यो कहाँको झल्का देखिएको हो ! उषा र साँझको लालीले रंगीनको भाव झैं यो फूल मेरो नजरसामुन्ने छ । म यसलाई हेरिरहेछु, अन्तमा छालहरू हृदय छुदै छचल्किन्छन् म कहाँ-कहाँ पुग्दछु । सिर्जनाको पहिलो हरियो रंग फैलिदा यो कसको साथमा पृथ्वीको वाटिकामा आएथ्यो ! कहाँ अल्पिन्छ यो रंगीन छाया, कहाँबाट फेरि झल्किन्छ !
फूलमा सौन्दर्यसँग सजीवता मिलेको छ । घरको, पहाडको, आकाशको, पृथ्वीको सुन्दरतामा ज्यान नभएको जस्तो लाग्छ, तर पृथ्वीलाई रंगीचंगी जीवनको चाल दिने फूलहरू हन्, आकाशको एकोहोरो गाम्भीर्यमा सजीव गौरवको चाल यप्ने आकाशैका मोती फूलहरू हुन्, अथवा ती सुनौला गुलाबी फूल जसलाई हामी बादल भन्दछौं । सुन्दर प्रभात गुलाबको फूल भएर फुल्दछ, मनोहर संध्यामा गुलाब र सुनगाभा मिसिन्छ । प्रकृतिका सुन्दर दृश्यमा फूलहरूमा झैँ तीन विशेषता देखिन्छन्–रंगको लालित्य, हृदयस्पर्शी कोमलता र अंगसंगतिको विचित्र माधुर्य । सबै राम्रा चित्रहरू चित्रकारको मगजका फूलहरू हन् । रंग भर्न खोज्नेलाई फूलहरूमा सब किसिमका रंग र छाँट मिल्दछन्– फीका गाढा, मिहीन, चड्का, हलुका गहिरा, तर फूलहरूमा सरस चाल छन् । यी सजीवताको माधुर्य सबै चीजमा पाइन्न, कुनै चीजमा यो वैत्रित्य लिएको देखिन्न ।