Jump to content

Page:Laxmi nibandhasangraha.pdf/73

From Nepali Proofreaders
This page has been proofread

चिह्न हो । साहित्यको क्षेत्रमा पनि यस्ता भलादमी हुन्छन्‌ । जब तिमी लोकप्रियता र देखावटमा लाग्दछौ, तिमी बोक्रे कवि या बोक्रे लेखक बन्दछौ । विचार आत्मा हो, शब्द शरीर हो, अलङ्कारादि वस्त्रुभूषाहरू हुन्‌ । जब तिमी शब्द र अलङ्कारपछि दगुर्दछौ, तब तिमी साहित्यिक भलादमी बन्दछौ । जनताको आधुनिक रुचिले तिमीलाई शिर चढाउँछ, तर फुस्रा बाबाका छातीमनि पनि विचित्र शृङ्गार रहेको हुन्छ। यो भित्रको वैचित्र्य, त्यो बाहिरको । तर भलादमी जति रङ्गीचङ्गी भए पनि, नङ्गा सिद्धको चेहरामा भित्रबाट निस्किएको ज्योति नै प्रभावपूर्ण हुन्छ । भलादमी ! तिमी प्रसिद्ध हुन हतपताउँछौ, पैसा जस्तै नाम पनि सच्चा तबरले कमाउनुपर्दछ । तर तिमीलाई प्रशंसा-प्रेमले मात्र कर्मक्षेत्रमा ल्याउँछ । रंगीचंगी भडकले आउँछौ तिमी हृदयमा आसन जमाउँदैनौ, आँखा मात्र तिरिमिर्याउँछौ । भित्र हेर्न छाडेर बाहिरको विचार गर्नासाथ तिमी साहित्य-देशमा गल्लीको बोक्रे भलादमी बनिहाल्दछौ । काँचको चश्माको ठाउँमा तिमी किताबका चश्मा चढाऔला, पाउडरको सट्टा तिमी कालो चरित्रको चेहरामा सफेद लगाऔला। लालीको बदला तिमी नक्कली रंग रचाऔला ।

त्यस्तै अरू क्षेत्रहरूमा पनि भलादमीहरू छन्‌। चित्तशुद्धिभन्दा शरीरशुद्धिको विचार राख्ने पुजारी, भावभन्दा शब्द याद गर्ने पाठक, मानिसको हितभन्दा आफ्नो नामको ध्यान राख्ने सुधारक, मासु खाएर सहभावको कविता लेख्ने कवि, बुझाउनभन्दा हात लगाउन जान्ने शिक्षक, गर्नभन्दा बोल्न जान्ने नोकर, अर्काको लेखमा हँस्सी उडाएर कलम सुताउने पाठक–यी एक-एक किसिमका एक-से-एक भलादमी हुन्‌ ।