चेहराको उडान, उनकै आकृतिमा बसेको हुन्छ । बहुत कम बोल्दछन्, दुनियाँले उनीहरूलाई तौलन सक्तैन ।
आकर्षण-शक्तिको सिद्धान्त भलादमीउपर घट्तछ । भलादमीको नजीकमा एउटा नदेखिने चुम्बकले तान्दछ । जबसम्म तिमी भलादमीहरूको छायाँमा रहन्छौ तबसम्म तिमी आफूलाई मानिस भन्नमा दोधारमा रहन्छौ । तिम्रो आदर या प्रशंसा उनको तर्फ खिंंचिएको हुन्छ । उनका गफलाई तिमी सफेद सत्य भनी ठान्दछौ । फेरि उनीहरूको मोहनीबाट पचास गज दूर नभईकन तिमीलाई साँचो कुरा झल्किंदैन । अझ यस्तो शक्तिले स्त्रीजातिको उपर ज्यादा काम गर्दछ । आकर्षण- शक्तिको नियमअनुसार भिन्न वस्तुहरू परस्पर खिंचिन्छन् ।
प्रशंसा-प्रेमको जिउँदो आकार भलादमी हो । हामी अरूलाई आफ्ना पुजारी बनाउन चाहन्छौं । यो भाव भलादमीमा सबभन्दा चर्को तवरले देखिन्छ । दुनियाँको नजर नभए भलादमीपनको दरकार थिएन । पूजा गर्दा हामी देवतालाई सिंगार्दछौं, भलादमी आफैंलाई सिगार्दछ, आफै आसन जमाउँछ, लोकप्रियता र प्रभुत्तको कला भलादमीले स्वभावैले लिएर आएको हुन्छ । मानिसको देखावटी चातुर्य भलादमीको प्रतिमा हो । भलादमीपन चरित्रको एउटा विचित्र प्रदर्शनी हो ।
भलादमीको दुनियाँ बाहिरी देखावटमा हुन्छ । भलादमी र फुस्रा सिद्ध मनोवैज्ञानिकको दुई छेउमा रहेका हुन्छन् । पहिलाको दृष्टिगोचर दुनियाँसँग सम्बन्ध रहन्छ, पछिल्लाको जगत् आँखाको पहँचपार हुन्छ । एउटाले चर्मचक्षुको हद देखाउँछ । अर्काले मनको आँखाको सीमा देखाउँछ । एउटालाई अर्को पागल जस्तो हुन्छ । यसलाई वस्त्रजस्तो ठूलो चमत्कार केही छैन; उसलाई परिधानको बेपरवाही हुन्छ । एउटा भन्छ, हेर, रमाइलो दुनियाँ जीवनको आनन्द कहाँ छ ? खानु, पिउनु, हाँस्नु, मोज उडाउनु मानिसकै जुनीको अधिकार हो ।' अर्को भन्छ, “दुनियाँ रङमगाइरहेछ । म दुईटै चमत्कार देख्तछु-ताराङ्कित आकाशको महिमा र भित्रका नैतिक नियमको विभूति यी दुईको सधैंको झगडा छ, भलादमी भौतिकवादको प्रतिनिधि हो, महात्मा अध्यात्मवादको वाङ्मुख हो । सत्य बीचैमा रहन्छ भन्दछन्।
भलादमीका अरू किसिमका सूक्ष्म रूपहरू छन् । जसको नजर आफूबाहिर छ, भलादमी भनेको त्यही हो । बोक्रेपन सबै भलादमीको