के नेपाल सानो छ ?
नेपाल !
सुन्दर, शान्त विशाल !
मैले आफैंले एक दिन लेखेथें, 'विशाल' को भावना कसरी आयो म भन्न सक्तिनँ ।
भूमण्डलका नक्शा पल्टाउनुहोस् र हेर्नुहोस् त नेपालको परिमाण कत्रो छ । यो सानो बूँद महासागरमा त्यसै बिलाए जस्तो देखिन्छ । यो सानो टुक्रा हिमालय पहाडको रेखामा सानो कोठा जस्तो लाग्दछ । कति देश र जातिले यसको नामै सुनेका होओइनन् । यो शान्तिको हरियो राजधानी जस्तो पृथ्वीको सानो प्यारो टुक्रालाई अघि बढेर देखाउनुभन्दा आफूलाई छिपाउनुमा ज्यादा रुचि देखाउँछ । त्यसलाई एकान्त मन पर्दछ । संसारको घच्चाघमासानमा पसिना काढी हिस्सा लिनुभन्दा ध्यान र ज्ञानको गङ्गातिर र हिमगिरिशिला यसलाई ज्यादा मन पर्छ । आधुनिकतामा जिज्ञासा राखे तापनि यो प्राचीनको पूजारी हो । आजसम्म लुकामारी खेलेर, हिजोको सुनौला प्रभातको सपना देख्न चाहन्छ । सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, खुट्टा छ तर आफैँ विश्व छ; दूर छ तर दूरताको दिव्य जादु । यो भारतमाताको मुटु फेला पार्ने थोरै छन्, किनकि यो पर्वतस्तनको भित्र गहिराइमा छिपेको छ ।
हिरा सानो हुन्छ, मोती सानो हुन्छ; मणि सानो हुन्छ; मिष्टभाषी निर्मल शिशु सानो हुन्छ; आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै होस् तर ओंकारको बिन्दु झैं परमानन्द घनीभूत छ । सानो भनेको के, ठुलो भनेको के ? यो दुनियाँमा तारालाई ठुलो भनौं भने अनन्त आकाश जूनकिरी जस्ता देखिन्छन् । बालुवाका दानालाई सानो भनौं भने एक कणमा सूक्ष्मदर्शी यन्त्रले र विज्ञानले विश्वको झिलिमिली जादुगरी