उभाउन गएको ठिटो आफ्नै भाँडामा डुबेर मरेजस्तो उखान छ । धेरै जना अंग्रेजी बोल्न डराउँछन्, लेख्न परै रहोस् । परीक्षाको लुगालाई सरस्वतीले खालि यन्त्र-प्रवृत्तिले घोकेका कुरा दोहोर्याउन लगाउँछिन् । हामीले परीक्षाबैठकबाट बाहिर निक्लनासाथ ज्ञानको टुङ्गो पुग्दछ र नवीन प्राप्ति र नवीन अन्वेषणको ऐंडी खतम हुन्छ । हामी मरीच झैं चाउरिन्छौं र सुक्खा बन्दछौं । अनि जीवन छडी, हप्काहट र धूर्तता बन्न जान्छ ।
तर यही अंग्रेजीमा नून छ, यही केटाकेटीको मुखलाई पापाचिची छ। यहीं भारतको बीसौं शताब्दी छ, यहीं आधुनिक आँखा छ, यहीं परराष्ट्र सम्बन्धहरू छन्, यहीं भारतीय अदालत छन् । यहीं सूर्य अस्ताउँदैनन्, यहीं रवाफ र आड छ। यहीं हाम्रो दैनिक जीवन छ। यो अंग्रेजीमा के छैन ?
अंग्रेजी पढ्नेलाई कुलीनका छोरी छन्, बाबूसाहेबहरूका घरमा मेच, स्कूलमा छडी, कलेजमा दाह्री, व्यापारका केन्द्रमा पैसा, परराष्ट्र अफिसमा इज्जत, भाषानुवादमा बोलावट, रोटीमा नौनी, विदेशमा रवाफ, स्वदेशमा धाक, साथीभाइहरूमा नाक, घण्टामा पचास र संसारमा सुवास, हाइ ! अंग्रेजी ! तँ जागीर पाउँछस् दर बसालेको, तैँ भाइसरायसँग हात मिलाउँछस्, तेरै रवाफ हामी खाएर बसिरहेछौं, जहाँ विद्वान्- पण्डितजीहरू चाउरिएर बस्तछन् ।