पालनपोषण र नाश पनि । डाक्टरहरू तारामिलनबाट ओर्लेका भारसाम्यलाई रोग भन्दछन्; र दुःखको चेतावनीलाई लक्षण भन्दछन्, तर यो विशाल चमत्कार जातिरक्षणलाई आत्मवेदनाको तत्त्वमा तौलमिलाइ पाएर चम्किरहेछ र आत्मसंहारका सूक्ष्म क्रियाहरूले व्यक्तिलाई समष्टिको वेदीमा अर्पण गरिरहेछ । शायद यसको विरुद्ध डाक्टरको जरूरत थिएन, तर मेरा आत्मजिज्ञासा र त्रासहरूमा अस्पताल बने ।
तर मलाई कसैले त्यहाँ देख्यो– सुनधारानिर हो क्यारे ?– जहाँ म कङ्कालको स्वरूपमा किर्लिङ्ग झुण्डिएको थिएँ । के त्यहाँ भीम उग्रध्वनि सबै थिएनन् ? के त्यो बाटो हिंड्दा आमाहरूले केटाकेटीका आँखा छोपेर हिंडेहुन् ? ओहो ! भीषण ! तँ त्यहाँ छस्, जहाँ फाहा लगाउने र गाला मुसार्ने जीवनझिल्के ऐना देख्तैन, तर आफ्नो विकृति, आफ्नो सत्यानाश, ज्योतिशून्यता, मुर्दापन र किर्लिङ्गपनाको ऐना देख्तछ । मलाई बाघदेखिन् डर लाग्दैन यदि बाघले जीवनलाई नखाओस् । त्यो मेरो भग्नावशेष जीवनको मुटु चिसो पारेर ढुक्क गराउँछ । त्यसैले मान्छे साधु हुँदा होलान् । ओहो ! छालाले मोरेको पुतली हुँ कि भनेर क्या वीरताको आत्मा तर्सेर आउँछ । लेप रे त्यहाँ जहाँ कङ्काल किर्लिङ्ग हुन्छ । हाय ! हेज्लिन स्नो ! तँ ती मांसशून्य खडबडे निधारलाई बनेको होइनस् ! त्यहाँ नसाहरू जाली परेर, बटारिएर, बाङ्गिएर गण्ठनमण्ठन परेका छन्, मेरा स्नायुजालको तसवीर मैलाई गिज्याउँछ र तर्साउँछ, मेरो ओडारखोप्ले आँखा देखेर म जुरुङ्ग हुन्छु । मानो जीवनको शून्यको बेपीँधे खाल्टो हो । नाशभन्दा खण्डहर नराम्रो छ । म त्यहाँ दुनियाँको जीवनलाई ङिच्च परेर गिज्याइरहेछु । 'खोई ! त्यो तकिया ले न, त्यो चाहिने ! अलि असजिलो भयो ।' मेरो आरामको दुनियाँलाई परवाह छैन; म सहानुभूतिको विशाल नैराश्यमा ढुङ्गो बनिरहेछु त संसार म जस्तै हुँला भनेर हर-हमेशा मलाई हेरेर तर्सिरहन्छ । त्यहाँबाट के जादू गयो ? कुन अखँदिलो कुन खँदिलो छाया ? त्यसलाई दुनियाँले नाम दिन जानेको छैन । म त्यसलाई कम्पन, स्पन्दन यस्तै नाम दिन्थें । म त्यसलाई पूजा गर्थें- 'तँ मेरो जीवनधन' भनेर । त्यसमा मेरो विश्व पलाउँथ्यो, बोल्थ्यो । त्यसमा यातायातको सिर्सिरिलोपन दिने केही कुरा थियो । ताराहरूबाट यसले भाषा खँदिलो पार्न खोज्थ्यो । 'म प्यासी छु, म प्यासी छु' भनेर रुँदै हात पसार्थ्यो । आँखाभरि कृतज्ञता, ढुकढुकाउँदो सजीवतासँग भन्दथ्यो,