Jump to content

Page:Laxmi nibandhasangraha.pdf/42

From Nepali Proofreaders
This page has been proofread

नजरमा केही ध्यानयोग्य विषय हो । कवि हुन चाहने व्यक्तिले पहिले नै या त बादलमा सौन्दर्य देख्तछ, या त पातहरूमा या कोइलीमा । तर यी चीजहरू सधैंका निमित्त सन्निकृष्यमाण रहने हुनाले ज्यादाजसो भावुक हृदय ती शब्दहरूतिर लहसिन्छ, जो पहाडका छातीबाट हरहमेशा नित्य नवीनताका सन्देशहरू लिएर आफ्नो मधुर स्रोतमा कलकलाइरहेका हुन्छन् । सलिलस्वरमा केही मनोहारिणी विशेषता रहेको छ । यिनीहरूमा नित्यता छ, हरहमेशा मुखरित रहन्छन् । यसको संगीतको आत्मा शब्दस्रोतमा लयदार बनेर पारावार भज्दै मानव जगत्‌का निमित्त आनन्दमय सन्देशले सर्वदा लयदार छ । हामी दृश्यमान जगत्‌मा अरू ठाउँमा यतिको टड्कारो लयदार तारल्य र कोमलता पाउदैनौं– यद्यपि बराबर अनुभवले विश्वको बनोटमा छन्द र लय भएका कुरा तीव्र क्षणमा हृदयग्राह्य गराउँदछन् । शायद हावा अर्को चीज थियो तर यसका तरल लहरहरू त्यस सौन्दर्यको चमक त्यो सुकुमार इन्द्रियमा त्यत्तिको स्पष्ट छैनन्, जसलाई हामी आँखा भन्दछौ । भावुक कल्पनालाई बहाइ मीठो लाग्दछ । तरल प्रवाहमा केही यस्तो हृदयग्राही वैचित्र्य छ, जसको विश्लेषण गरिन मुश्किल हुन्छ। तारल्य यस्तो वस्तु हो, जो विश्वसामग्रीहरूको मौलिक चेहरा र प्रगतिसँग केही सामञ्जस्य राख्तछ । कठोरता, खँदिलोपन त्यसका विशिष्ट रूप जस्ता भासमान छन्, तर हाम्रो मन प्रगतिशील, प्रवाहशील, सम्भावनाढ्य, तारल्य नै रुचाउँछ जो यसको मूल प्रकृतिसँग सादृश्य राख्तछ । हामी चीज बहेको देख्न चाहन्छौं । त्यस बहाइमा, जसमा सौन्दर्यसंकेत रेखाहरू बन्दै, मेटिंदै र सगति पाउँदै जान्छन् । कलाको मौलिक प्रकृति नै तारल्य हो । खडिखडाउपनामा चिच्याहटलाग्दो कर्कशता अनुभूत हुन्छ । स्थित रेखामा हामीहरू मानसिक उत्तेजना पाउँदैनौं । त्यहाँ संभावनाको आढ्यता कल्पनान्तर्गत बन्दैन । एकोहोरो एकत्वले हाम्रो सृजनात्मक अन्वेषणलाई गिज्याइरहन्छ । हामीहरू चाहन्छौं कि रूखहरू चलून् । त्यसै कारण भावी कविहरू पात हल्लेको निको मान्दछन्, मनको तरलायित रेखाले लयहरूद्वारा अङ्कन हरहमेशा मागिरहेछ । उसलाई स्थिर चित्तमा सन्तोषको मात्रा कम रहन्छ । फेरि युवावस्थालाई स्थिरतासँग हरहमेशा वैमनस्य छँदैछ । प्रगतिशीलता नै जवानीको मोहनी हो । जहाँ चालमा सजीवता छ त्यहाँ जीवनले स्पन्दन पाउँछ र सौन्दर्य भनेको आखिर मधुर सम्भावनाको आढ्यतासँग गाँसिएको