Jump to content

Page:Laxmi nibandhasangraha.pdf/41

From Nepali Proofreaders
This page has been proofread

सरिताको कलकलमा

हामीहरू सिकारु कविलाई बराबर गिज्याउने गर्दछौं– 'सरिताको कलकल' भन्ने उपनामले, तर ज्यादाजसो भान कविहरूका सौन्दर्योपासक कल्पनाहरू जलको कलकलमा किन प्रथम प्रेरणा पाउने गर्दछन्; यसको पनि त केही मौलिक तत्त्व हुनुपर्छ । हाम्रा जागरूक हृदय त्यहाँ के पाउँछन् ? कुन प्रभाव ? यो पनि एउटा विश्लेषणलाई चाखलाग्दो कुरो हो । हामीहरूले सौन्दर्यका मूलतत्त्वहरूको अन्वेषण त्यहीं गर्नुपर्दछ जहाँ युवावस्थाको प्राकृतिक अभिरुचि आफ्नो आनन्दका सामग्रीहरू खोज्न भ्राम्यमाण हुन्छ । अक्सर सरिताको कलकल ध्वनि कुनै रहस्योद्घाटक या आनन्दोत्पादक तत्त्व लिएर मनमा चढ्ने गर्दैन र तीन सय खोलानाला तरिरहने या साना पहाडी जलस्रोतका नजीक जीवन बिताउने मनुष्यहरूले यो मधुर निनादद्वारा उस्तो आनन्द अनुभव गरेको सुनिएको या देखिएको छैन । उनीहरूका निमित्त यो कलनिनाद खोलाको आवाजसम्म भन्ने नामले चैतन्यमा आरोपित हुन्छ, त्यहाँभन्दा उपर चढ्दैन । यो सधैंका दैनिक विशेषतारहित अनुभवहरूसँग गाँसिन जान्छ र उनीहरू यसको त्यत्तिको परवाह गर्ने गर्दैनन् । न त उनीहरूको जीवनमा यसद्वारा आनन्द या खँदिलो प्राप्तिको अंशमा केही बढती भएजस्तो प्रतीत हुन्छ, तर जो कवित्वशक्ति भएका कल्पनाहरू छन्, तिनमा चाँडै नै खोलाका मधुर शब्दले विशेष कदर पाउँछन् र शीघ्रतया जीवनसँग गाँसिएर शक्तिशाली प्रभाव बन्दछन् । यस किसिमका भावुकताले रहनु र त्यस भावुकताले आफ्नो आनन्दका निमित्त मधुर निनादिनी गिरिनिम्नगाहरूमा सामग्री भेट्टाउनु केही विचार र विश्लेषणलायकको कुरा जस्तो देखिन्छ ।

यस्तो विस्तीर्ण दुनियाँमा कल्पना र विमर्शका निमित्त अनन्त उपादानहरू छँदाछँदै भावुकको सहृदयताले युवावस्थाको उत्साहसाथ अरू चीज छाडेर जलको शब्दमय प्रवाहमा विशेषता पाउनु हाम्रो