(मनुष्यको रूपनजीकको) स्पष्ट भएर आउँछ किनकि उनी हामीलाई आफूबाट टाढा जान दिन चाहन्नन् र टाढा जाने क्रियामा दुःख र अग्नि हालेर हामीलाई वैराग्यमा रुलाउँदै आफ्नोतर्फ ल्याउँछन् । हाम्रो जीवन र आनन्दोपभोगिता त्यही प्रेमतत्त्वमा निर्भर भएको प्रतीत हुन्छ । त्यस प्रेमीको व्यक्तीकरण भावना गर्न बहुत सजिलो पर्दछ मानव आत्मालाई । नवम प्रमाण–विश्वको अनन्त तारुण्य र यसमा रहने अमृतभावमा देखिन्छ । आत्मा अमर छ भन्ने हाम्रो विश्वास छ, भूतप्रेतादिहरूद्वारा यो कुरा सिद्ध गर्न सकिन्छ । त्यसका साथसाथै कोही अमृततत्त्व विश्वलाई परिवर्तनशीलताउपर पनि अमर पोषण दिएर नित्य तारुण्यमा राखीराखी मानवात्मालाई चाहिंदो सामयिक पोषण दिन्छन् । दशौं प्रमाण– मानवात्माको प्रत्येक विचार मात्रको अनन्त उत्तरदायित्वमा पाइन्छ । यो अदृश्यको पर्दाको आड लिएर जवाफ लिने हामीसँग हरेक सूक्ष्म भावानुभावमा घनिष्ठ व्यक्तीकरण पाएको विराट् मूर्ति जस्ती लाग्छ । मनुष्यमा अपूर्णताको चैतन्य रहनु नै पूर्ण चैतन्यको संकेततत्त्वको रूपमा एघारौं प्रमाण रहन्छ । यी केही प्रमाण हुन् र यिनबाट त्यो कोही एक विश्वस्रष्टा रहेछ भन्ने थाहा पाइन्छ । तर हामी बोक्रे वेदान्तीको काल्पनिक शून्यप्रायः चैतन्यमा निर्धारित हुन चाहँदैनौं । हामी मूर्तिमान् घनिष्ठता चाहन्छौ। । हामी सजीवता भएका ईश्वरका प्रमाण चाहन्छौं । मूर्तिमत्तालाई टाढा जानु पदैन । जुन विराट् चैतन्यले शून्यबाट विश्वलाई मूर्त बनायो, स्वयं त्यही आकृति हुनु सम्भव मात्र होइन, चित्र हुन सजिलो छ । मायाको सबल स्वरूपसम्म हाम्रो कल्पना पुग्दछ । परमेश्वर ढुङ्गा जस्ता छैनन्, तर सजीव सहृदय छन्, यद्यपि उनका हृदयमा अनन्त करुणाका अनन्त कठोरता क्रिया गर्दछन्– सत् शिव सुन्दरका सभामा ।
जहाँ यी पूर्णाभासी ईश्वर रहन्छन् त्यो ठाउँ कस्तो होला ? त्यही स्वर्ग हो, त्यहाँ निर्मल आत्माहरू सान्निध्यमा बास पाउँछन् ।
त्यहाँ अमृत छ, दुःखको अभाव ! मूर्तिमत्ता भएपछि स्वर्ग छैन भन्नु अन्धता र अविवेक हुन्छ । मूर्ति भएपछि स्थान हुन्छ, ईश्वरको स्थान स्वर्ग या वैकुण्ठ हो।
मनुष्यमा आत्मा छ भन्ने सजिलो विश्वास छ । रासायनिक संमिश्रणहरूको काकताली क्रियाले मानव सन्तुष्ट हुँदैन । मनुष्य अभिप्रायसंपन्न छ । मृत्युभन्दा पारिका कुराहरू हामी थाहा पाउन सक्छौं ।