Jump to content

Page:Laxmi nibandhasangraha.pdf/34

From Nepali Proofreaders
This page has been proofread

भाषा नेपालीको जिभ्रोनजीकै आउँछ, उनी व्याकरणबद्ध थिएनन्‌, उनको व्याकरण नैसर्गिक बुद्धिको नियम थियो, उनका छन्द हाम्रो जिभ्रोमा सजिलोसँग बग्दछन्‌ । उनका झल्का हाम्रा आँखामा सजिलोसँग खुल्दछन्‌ । उनी हृदयलाई आह्वान गर्दछन्‌ । एउटा अज्ञात मोहनी हामीलाई उनको पंक्तितर्फ डाक्तछ । हामीलाई प्राचीन कालमा घुसेजस्तो लाग्दछ, जहाँ रामराज्य छ, जहाँ रामका प्रजा सत्यलाई नै जीवन भन्दछन्‌ । मान्छे उनलाई अनुवाद तुल्याउँछन्‌, तर हामी अनुवादन देख्तछौं–पुराना ऋषिहरूका प्रतिध्वनि । उनी भाषा त्यहाँ लैजान्छन्‌ जहाँ बालकहरू रमाउँछन्‌, जहाँ नेपाली निख्खरा हुन्छ, जहाँ जननीहरू पुराना कथा सुनाउँछन्‌ । उनमा क्लिष्टता छैन, न कृत्रिमता; उनी शब्द बटार्दैनन्‌, उद्धत दृष्टिकोणको प्रदर्शनी उनी जान्दै-जान्दैनथे; उनको कलम सजिलोसँग चल्दछ, कविता नेपाली पहाड नाघेर कहिल्यै उड्दैनन्‌ । उनको भाषा नलेख्ने कविहरूको भाषा जस्तो छ । हामी भानुभक्त पढेर शिक्षा शुरू गर्दछौं र उनलाई हेलाँ गरेर समाप्त गर्ने गर्दछौं, तर बुभ्नेहरू आफ्नो घरको बत्तीमा अर्कै मोहनी देख्तछन्‌ ।

नेपाली साहित्यिक क्षेत्रमा अरू कसैको त्यत्तिको प्रभाव परेको छैन, न त जीवनमा । उनी अतुलनीय छन्‌ । धेरैले समग्र नेपालीको हृत्केन्द्र छुन खोजे उनकै अनुकरणमा, तर सकेनन्‌ । उनी एक्ला छन्‌ । अरूमा ज्यादा विभिन्नता पाउन सकिन्छ–ज्यादा रङ, ज्यादा प्रश्न, ज्यादा शङ्का, तर उनी आफू जस्तै छन्‌–एकै किसिमका निर्मल । उनले सब समस्या सरल तवरले हल गरिसकेका छन्‌ । उनको भविष्यलाई सन्देश यही छ–सत्यको श्रद्धा र नेपाली हृदयको समीपवर्तित्व नै कविको पहिलो पानी हो ।

उनी हाम्रा आदर्श छन्‌ । मिल्टनलाई वर्डस्‌वर्थले बोलाएझौं धरणीधर कोइरालाको आत्मासँग मिलेर हामीहरू आजकलको युगमा आह्वान गर्न चाहन्छौं । उनी रामायणले मात्रै जाँचिन्नन्‌, यद्यपि त्यही उनको सर्वोत्तम रचना हो । उनकै फुटकर कविताहरू आफैं बोल्दछन्‌ । तिनमा सरल माधुर्य र सहृदयताको चमत्कार पाइन्छ । तिनमा पाण्डित्यप्रदर्शनी छैन, लबजहरू दिललाई सोधी-सोधी निस्कन्छन्‌ । उनको 'बालाजू' मा चातुरीको नर्तन छैन, खालि हृदयको भुलभुलावट-सानो शीतल स्वर्ग देख, हावामा अमृत थियो, लहरा र फूल परी झै नाच्थे ।